बाजुरा । पूर्वी–उत्तरी क्षेत्रलाई सदरमुकाम मार्तडीसँग जोड्ने मार्तडी–कोल्टी सडकखण्ड तीन महिनापछि सञ्चालनमा ल्याउने तयारी थालिएको छ।
वर्षायाम सुरु भएसँगै गत असार दोस्रो सातादेखि अवरुद्ध रहेको सडक खुलाउन आजदेखि काम सुरु गरिएको हो। प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार पूर्वाधार विकास कार्यालय अछामसँगको समन्वयमा बडीमालिका नगरपालिकाको जेसीबी प्रयोग गरी सडकमा खसेका पहिरो हटाउने र क्षतिग्रस्त संरचना मर्मत गर्ने काम भइरहेको छ।
उनले सडकखण्डका विभिन्न स्थानमा पहिरो हटाउने तथा मर्मतको काम भइरहेको र केही दिनभित्रै सडक सञ्चालनमा ल्याउने तयारी रहेको जानकारी दिए।
लगातारको वर्षाका कारण सडकका विभिन्न स्थानमा पहिरो खस्नुका साथै खोलामा पानीको बहाव बढेपछि मार्तडी–कोल्टी सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो। सडक बन्द हुँदा पूर्वी–उत्तरी क्षेत्रका चार पालिकासहित छिमेकी हुम्ला र मुगुका नागरिकसमेत प्रभावित भएका छन्।
सडक अवरुद्ध भएपछि मार्तडीबाट कोल्टी पुग्न यात्रुले रु दुई हजारसम्म भाडा तिर्नुपर्ने अवस्था आएको थियो। सडक बन्द हुँदा बीच बाटोमै सवारीसाधन रोकिएका छन् भने दैनिक उपभोग्य वस्तु तथा निर्माण सामग्रीको ढुवानीसमेत प्रभावित भएको छ।
बडीमालिका नगरपालिका–८ स्थित बाउली खोला र वडा नं ७ को रजातोली खोलामा पुल नहुँदा तथा जिल्ली र रजातोलीलगायत क्षेत्रमा पटकपटक पहिरो खस्दा हरेक वर्ष वर्षायाममा सडक अवरुद्ध हुने गरेको छ।
नगरप्रमुख अमरबहादुर खड्काका अनुसार गत वर्ष अनाई खोला र यस वर्ष बुढीनन्दा नगरपालिकाको दानसाँघु खोलामा पुल निर्माण भएपछि केही सहजता भए पनि बाउली खोलाको पुल पाँच वर्षदेखि अधुरै छ। रजातोलीमा पुल निर्माण भइरहेको भए पनि बाउली खोलाको पुल निर्माणमा कम्पनीले ढिलाइ गर्दा स्थानीयवासीले बर्सेनि समस्या भोग्नुपरेको उनले बताए।
सडक अवरुद्ध हुँदा पूर्वी–उत्तरी क्षेत्रका किसानको स्याउसमेत बजारसम्म पुर्याउन समस्या भएको छ। स्याउ किसान उज्ज्वल रावतका अनुसार सडक बन्द भएपछि कतिपय किसानले स्याउ पिठ्युँमा बोकेर सदरमुकाम मार्तडी ल्याउने गरेका छन् भने केहीले कर्णाली करिडोर हुँदै धनगढी र नेपालगन्जसम्म पुर्याउने गरेका छन्।
करिब २७ वर्षअघि शिलान्यास भएको मार्तडी–कोल्टी सडक अझै पूर्ण रूपमा स्तरोन्नति हुन सकेको छैन। सुदूरपश्चिम प्रदेश सरकारको बहुवर्षीय योजनामा रहेको यस सडकको कालोपत्र तथा स्तरोन्नति कार्यमा ढिलाइ हुँदा हरेक वर्ष वर्षायाममा सडक अवरुद्ध हुने समस्या दोहोरिँदै आएको छ।
पूर्वाधार विकास कार्यालय अछामका अनुसार गत आर्थिक वर्षमा ठेकेदार कम्पनीले काम नगरेपछि मार्तडी–कोल्टी सडकका लागि विनियोजित रु २० करोड बजेट फिर्ता भएको थियो। सडक निर्माण तथा स्तरोन्नतिको जिम्मा पाएको पीएस बानियाँ निर्माण सेवाले काममा ढिलाइ गर्दा गत वर्ष मात्रै नभई अघिल्ला वर्षहरूमा समेत करोडौँ रुपैयाँ बजेट खर्च हुन नसकी फिर्ता हुँदै आएको कार्यालयले जनाएको छ।






