सिड्नी । अष्ट्रेलियाको केन्द्रीय बैंकले बढ्दो इन्धन मूल्य र मुद्रास्फीतिको दबाबलाई नियन्त्रण गर्न प्रमुख ब्याजदर २५ आधार अंकले वृद्धि गर्दै ४.६ प्रतिशत पुर्याएको छ। यो ब्याजदर पछिल्लो १५ वर्षयताकै उच्च हो।
अष्ट्रेलियाको केन्द्रीय बैंक (आरबीए)ले मंगलबार नगद दर बढाउने निर्णय गरेको हो। मध्यपूर्वमा बढ्दो द्वन्द्वका कारण विश्वव्यापी ऊर्जा आपूर्तिमा अवरोध सिर्जना हुँदा इन्धनको मूल्य बढेको र त्यसको असर मुद्रास्फीतिमा परेको बैंकले जनाएको छ।
आरबीएका अनुसार पछिल्ला आर्थिक तथ्याङ्कले अष्ट्रेलियाको आर्थिक वृद्धि र मुद्रास्फीति दुवै अपेक्षाभन्दा उच्च रहेको देखाएका छन्। इन्धनको मूल्यवृद्धिको प्रभाव अन्य वस्तु तथा सेवाको मूल्यमा समेत परेको बैंकको भनाइ छ।
त्यस्तै, कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको तीव्र विस्तारले प्रविधिसम्बन्धी वस्तु तथा सेवाको लागत बढाएको बैंकले जनाएको छ। एआईसम्बन्धी बढ्दो मागका कारण विश्व बजारमा प्रविधिसँग सम्बन्धित वस्तुको मूल्यसमेत बढिरहेको उल्लेख गरिएको छ।
बैंकका अनुसार एआईसम्बन्धी लगानीबाट सिर्जित बढ्दो मागले मध्यपूर्वको द्वन्द्वबाट परेको नकारात्मक प्रभावभन्दा बढी लागत वृद्धिमा योगदान गरिरहेको छ। अष्ट्रेलियाका प्रमुख व्यापारिक साझेदार मुलुकमा समेत आर्थिक गतिविधि अपेक्षाभन्दा बलियो देखिएको बैंकले जनाएको छ।
यसैबीच, अष्ट्रेलियाको आवास बजारमा देखिएको मन्दीले आर्थिक अनिश्चितता थप बढाएको छ। बैंकका अनुसार अधिकांश राज्यका राजधानी सहरमा आवासको मूल्य घटेको छ भने नयाँ आवास कर्जाको मागसमेत उल्लेखनीय रूपमा कमजोर भएको छ।






