सञ्चारमन्त्री तिमिल्सिनाको कोरिया भ्रमण स्थगित

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले गणतन्त्र कोरियाको राजधानी सिओलमा आयोजना हुने ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’मा सहभागी हुने पूर्वनिर्धारित भ्रमण स्थगित गरेका छन्।

मन्त्रिपरिषद्को २०८३ भदौ ३ गतेको बैठकबाट स्वीकृत भएको भ्रमणअनुसार मन्त्री तिमिल्सिना सेप्टेम्बर ३० देखि अक्टोबर ९, २०२६ सम्म सिओलमा हुने कार्यक्रममा सहभागी हुने तयारीमा थिए।

तर देशका विभिन्न क्षेत्रमा आएको बाढी, पहिरो तथा निरन्तर वर्षाका कारण ठूलो जनधनको क्षति भएपछि उनले भ्रमण स्थगित गरेका हुन्।

भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत जिल्लामा ठूलो क्षति पुगेको थियो। त्यसपछि असोज ८ देखि ११ गतेसम्म भएको निरन्तर वर्षाका कारण पनि देशका विभिन्न स्थानमा बाढी, पहिरो तथा डुबानका घटना भएका छन्।

विपद्का कारण मानवीय क्षतिसँगै सडक, पुल, विद्युत्, दूरसञ्चार तथा अन्य भौतिक संरचनामा समेत क्षति पुगेको छ। प्रभावित क्षेत्रमा अहिले पनि उद्धार, राहत तथा पुनःस्थापनाका काम जारी छन्।

विपद्बाट प्रभावित क्षेत्रमा दूरसञ्चार तथा इन्टरनेट सेवा अवरुद्ध हुँदा उद्धार, राहत तथा समन्वयमा समेत कठिनाइ भइरहेको मन्त्रालयले जनाएको छ। यस्तो अवस्थामा सञ्चार सेवा यथाशीघ्र नियमित र प्रभावकारी बनाउनुपर्ने भएकाले मन्त्री तिमिल्सिनाले मुलुकभित्रै रहेर विपद् व्यवस्थापन तथा प्रभावित क्षेत्रमा सञ्चार सेवा पुनःस्थापनाको कामलाई प्राथमिकता दिएका हुन्।

पूर्वनिर्धारित कार्यक्रमअनुसार कोरिया भ्रमणमा सहभागी हुन नसक्ने जानकारी आयोजक पक्षलाई गराउन सञ्चार मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई अनुरोध गरेको छ।

मन्त्रालयका अनुसार भ्रमण स्थगित गर्नुको मुख्य कारण विपद्का कारण उत्पन्न असहज परिस्थिति तथा प्रभावित क्षेत्रमा उद्धार, राहत, पुनःस्थापना र सञ्चार सेवा सञ्चालनलाई तत्काल प्राथमिकता दिनुपर्ने अवस्था हो।