प्रधानन्यायाधीश शर्मा र आईजीपी कार्कीबीच सर्वोच्चमा भेटवार्ता

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग भेटवार्ता गरेका छन् ।

प्रधानन्यायाधीश शर्मालाई भेट्न आईजीपी कार्की मंगलबार दिउँसो सर्वोच्च अदालत पुगेका हुन् । सर्वोच्च अदालत स्रोतका अनुसार उनी करिब ४ बजे सर्वोच्च पुगेका थिए ।

स्रोतका अनुसार प्रधानन्यायाधीश शर्माको कार्यकक्षमा आईजीपी कार्की र शर्माबीच करिब ४५ मिनेट भेटवार्ता भएको थियो । यद्यपि, भेटका क्रममा के विषयमा छलफल भयो भन्ने खुलाइएको छैन ।

यसअघि प्रहरीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सुरक्षा खतरा रहेको भन्दै रातारात निवासबाट प्रहरी चौकी पुर्‍याएको थियो । सरकारले समेत जबरामाथि सुरक्षा खतरा बढेकाले उद्धार गरिएको दाबी गरेको थियो ।

जबरालाई आइतबार करिब १० घण्टा नियन्त्रणमा राखिएको विषयमा सर्वोच्च अदालतको फुलकोर्ट बैठकले समेत आपत्ति जनाएको थियो । फुलकोर्टले आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेपछि आईजीपी कार्कीले प्रधानन्यायाधीश शर्मासँग भेट गरेका हुन् ।