चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ– संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। संघीय संसद् सचिवालयका अनुसार अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो।

अर्थ समितिको बैठक बिहान ८ः३० बजे सिंहदरबारमा बस्नेछ। बैठकमा नेपालको पुँजी बजारलाई व्यवस्थित, पारदर्शी, विश्वसनीय तथा लगानीमैत्री बनाउन धितोपत्र निष्कासन, सूचीकरण, बजार सञ्चालन तथा नियमन र लगानीकर्ताको हित संरक्षण सम्बन्धमा सम्बन्धित निकाय तथा संघसंस्थासँग छलफल गरिनेछ।

त्यस्तै, कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ९ः३० बजे सिंहदरबारमा बस्नेछ। बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवाको मानव अधिकारको अवस्थासम्बन्धी उपसमितिले तयार पारेको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ।

यसैगरी, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा संयुक्त राष्ट्रसंघीय जलवायुसम्बन्धी सम्मेलनका सन्दर्भमा कृषि, वन तथा वातावरण मन्त्रालय तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका कामकारबाही सम्बन्धमा छलफल हुनेछ।

विधायन व्यवस्थापन समितिको बैठक पनि बिहान ११ बजे सिंहदरबारमा बस्नेछ। समितिको बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ।