नारायणी किनारका संरचना बाढीले बगायो, पर्यटकीय गन्तव्य बनाउने सपना अधुरै

चितवन: नारायणी नदी किनारलाई ‘सिबिच’ ढाँचामा विकास गरी पर्यटकीय गन्तव्य बनाउने भरतपुर महानगरपालिकाको योजना बाढीका कारण प्रभावित भएको छ। हरेक वर्ष आउने बाढीले तटमा निर्माण गरिएका संरचना बगाएपछि सो क्षेत्रको सुन्दरता जोगाउन चुनौती थपिएको हो।

भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले सङ्घ र प्रदेश सरकारसँगको सहकार्यमा नदी किनारलाई सुन्दर बनाउने प्रयास गरे पनि बाढीले गर्दा सम्भव नभएको बताए। तत्कालीन नगरप्रमुख रेनु दाहालको पहलमा पर्यटन मन्त्रालय र नारायणी नदी व्यवस्थापन आयोजनामार्फत फुटट्रेल, आरसिसी संरचना र बगैँचा निर्माण गरिएको थियो। पर्यटन मन्त्रालयले करिब ६ करोड ५० लाख रुपैयाँको लागतमा २.४ किलोमिटर फुटट्रेल र पार्किङ निर्माण गरेको थियो भने महानगर र उद्योग वाणिज्य सङ्घले ९७ लाख रुपैयाँ खर्चिएका थिए।

नदी व्यवस्थापन आयोजनाले २०७९ सालमा १५ करोड ९२ लाख रुपैयाँ खर्चिएर ६५० मिटर लामो आरसिसी संरचना बनाएको थियो। जोरकुसुम उद्यान क्षेत्रबाहेक अन्य संरचना बाढीले बगाएको छ। उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चिरञ्जीवी सुवेदीले हरेक दुई वर्षमा महोत्सवका लागि ४० लाख रुपैयाँ खर्चिएर किनार व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेको बताए। पूर्वअध्यक्ष राजन गौतमले नदीलाई प्राकृतिक धारमा बग्न दिनुपर्ने र सो क्षेत्रमा गरिएको लगानी बालुवामा पानी भएको टिप्पणी गरे।

नारायणगढ बजारका स्थानीय प्रभातकुमार जोशीले नदीको कटानले बजार क्षेत्र नै जोखिममा पर्न सक्ने भन्दै चिन्ता व्यक्त गरे। महानगरका डिभिजनल इन्जिनियर सन्तोष आचार्यले नदी तटीय क्षेत्रको विकासका लागि अब फरक ढङ्गले नक्साङ्कन गर्नुपर्ने आवश्यकता औँल्याए। नारायणी बेसिन कार्यालयका अनुसार गत आइतबार देवघाटमा नदीको बहाव ११.९३ मिटर मापन गरिएको थियो, जुन सन् १९६३ यताकै उच्च हो।