बागलुङमा बाढी-पहिरो: ६१ घर गोठ बगे, १२ जनाको मृत्यु

काठमाडौं: बागलुङमा असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी ६१ वटा घर तथा गोठ बगेका छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार थप ५१ घरमा आंशिक क्षति पुगेको छ। विपद्मा परी १२ जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन्।

बाढीपहिरोले गलकोट नगरपालिका-९ को वडा कार्यालय, तीनवटा झोलुङ्गे पुल, दुईवटा प्रहरी कार्यालय, दुईवटा जलविद्युत आयोजना, एक विद्यालय, एक रिसोर्ट र एक कृषि फार्ममा क्षति पुर्‍याएको छ। यसका साथै २५६ पशुचौपाया मरेका छन् र २१५ वटा कुखुराको क्षति भएको छ। निसीखोला, तमानखोला, बडिगाड, काठेखोला गाउँपालिका तथा ढोरपाटन, गलकोट र बागलुङ नगरपालिकाका विभिन्न क्षेत्र बढी प्रभावित भएका छन्।

निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीका अनुसार गाउँपालिकाले विपद् प्रभावित परिवारलाई राहत तथा आर्थिक सहयोग उपलब्ध गराएको छ। गाउँपालिकाले मृतकका परिवारलाई जनही ५० हजार रुपैयाँ, पूर्ण रूपमा क्षति भएका परिवारलाई ३० हजार रुपैयाँ र उच्च जोखिममा रहेका परिवारलाई १० हजार रुपैयाँका दरले नगद राहत वितरण गरेको छ। प्रभावितलाई खाद्यान्न र त्रिपालसमेत प्रदान गरिएको छ।