दोधारा–चाँदनी झोलुङ्गे पुलः प्राविधिक टोलीद्वारा अध्ययन सुरु

महेन्द्रनगर – कञ्चनपुरको महाकाली नदीमा रहेको दोधारा–चाँदनी झोलुङ्गे पुलको पिल्लर भत्किएपछि प्राविधिक टोलीले स्थलगत अध्ययन तथा निरीक्षण सुरु गरेको छ ।

सुदूरपश्चिम प्रदेशको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक जगतप्रसाद जोशीका अनुसार झोलुङ्गे पुलका विज्ञ इन्जिनियर प्रकाश बमसहितको प्राविधिक टोली दोधारा–चाँदनी पुगेर पुलको अवस्थाबारे विस्तृत अध्ययनमा जुटेको हो ।

जोशीले पुलको प्राविधिक अवस्थाबारे विस्तृत अनुगमन गरिने जानकारी दिए । उनका अनुसार अध्ययनपछि पुलमा भएको क्षतिको अवस्था र आवश्यक मर्मत तथा पुनर्निर्माणका विषयमा थप प्रक्रिया अघि बढाइनेछ ।

भीमदत्त नगरपालिका र दोधारा–चाँदनी नगरपालिका जोड्ने उक्त पुलको एउटा पिल्लर भत्किएको छ । पुलको करिब ६ मिटर भागमा समेत क्षति पुगेपछि सुरक्षाका कारण आवागमन बन्द गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

यसैबीच, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्ट पनि भत्किएको पुलको स्थलगत निरीक्षणका लागि दोधारा–चाँदनी पुग्ने भएका छन् । मुख्यमन्त्रीसँगै प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको टोली पनि निरीक्षणमा सहभागी हुने जनाइएको छ ।

पुल पुनर्निर्माणका लागि कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूले समेत सम्बन्धित निकायसँग समन्वय भइरहेको जनाएका छन् ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित सांसद ज्ञानेन्द्र महताले पुलको प्राविधिक निरीक्षणका लागि टोली परिचालन गरिएको जानकारी दिएका छन् । निर्वाचन क्षेत्र नं. २ का सांसद दीपकराज बोहराले बाढीका कारण पुलको एउटा पिल्लर भत्किएको भन्दै सुरक्षाका दृष्टिले नागरिकलाई पुल आसपास नजान आग्रह गरेका छन् ।

पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकले पनि पुल भत्किएको घटनाप्रति दुःख व्यक्त गर्दै यथाशीघ्र पुनर्निर्माणको पहल गर्न सरकारसँग आग्रह गरेका छन् ।

लेखकले आफू विसं २०५६ मा कञ्चनपुरबाट निर्वाचित भएपछि महाकाली नदीमा झोलुङ्गे पुल निर्माण गरी दोधारा–चाँदनी जोड्ने विषय उठाएको स्मरण गरेका छन् । उनका अनुसार त्यतिबेला कतिपयले उक्त योजना असम्भव भएको भन्दै ठट्टासमेत गरेका थिए । पछि सरकारकै बजेट र नेपाली प्राविधिकको पहलमा पुल निर्माण सुरु भई लामो झोलुङ्गे पुल निर्माण भएको थियो।