काठमाडौं । नेपाली बजारमा बिक्री भइरहेको रारा ब्रान्डको तयारी चाउचाउको एक विशेष ब्याच न्यूनस्तरको पुष्टि भएपछि बजारबाट फिर्ता गर्न निर्देशन दिइएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नियमित बजार अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरिएको रारा चाउचाउको नमुना परीक्षण गर्दा तोकिएको गुणस्तर पूरा नभएको जनाएको हो ।
विभागका अनुसार पोखरास्थित औद्योगिक क्षेत्रमा रहेको हिमश्री फुड्स प्रालिले उत्पादन गरेको ६० ग्रामको रारा चाउचाउ न्यूनस्तरको पाइएको हो । परीक्षण गरिएको उत्पादनको ब्याच नम्बर ‘आरईजी ०१’ र उत्पादन मिति सन् २०२६ फेब्रुअरी ५ रहेको विभागले जनाएको छ ।
‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’ बमोजिम संकलन गरिएको नमुना विभागको आधिकारिक प्रयोगशालामा परीक्षण गर्दा खाद्य पदार्थका लागि तोकिएको मापदण्ड पूरा नभएको पुष्टि भएको हो ।
उत्पादक कम्पनीले उक्त चाउचाउको उपभोग्य अवधि उत्पादन मितिबाट १२ महिना तोकेको भए पनि परीक्षणबाट न्यूनस्तरको पुष्टि भएकाले आरईजी ०१ ब्याचका सबै प्याकेट बजारबाट तत्काल फिर्ता गर्न विभागले निर्देशन दिएको छ ।
विभागले उक्त ब्याचका चाउचाउ बिक्री वितरण नगर्न तथा नगराउन सम्बन्धित उत्पादक, विक्रेता र व्यवसायीलाई निर्देशन दिएको छ ।
साथै, आम उपभोक्तालाई पनि २०२६ फेब्रुअरी ५ मा उत्पादन भएको र ‘आरईजी ०१’ ब्याच नम्बर उल्लेखित रारा चाउचाउ खरिद तथा उपभोग नगर्न विभागले आग्रह गरेको छ।






