काठमाडौँ । बाढीका कारण खानेपानीको समस्या झेलिरहेका धादिङको गल्छी गाउँपालिका–६ बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा सञ्चालनमा आएको छ ।
नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखाद्वारा सञ्चालित ‘रसुवा बाढी प्रतिकार्य कार्यक्रम’अन्तर्गत महेशखोला–भट्टटार–जिन्टेटार डिप बोरिङ खानेपानी मर्मत योजना सम्पन्न भएपछि स्थानीयवासीका घरघरमा पुनःखानेपानी पुगेको हो ।
खानेपानी योजना मर्मतका लागि नेपाल रेडक्रस सोसाइटीले रू चार लाख ४६ हजार ६८० आर्थिक सहयोग गरेको थियो । उक्त सहयोगबाट आवश्यक मर्मत तथा पुनःस्थापनाको काम सम्पन्न गरिएको हो । योजनाबाट गल्छी गाउँपालिका–६ बैरेनीका १८० घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।
मर्मत सम्पन्न भएपछि आयोजित कार्यक्रममा गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडाले खानेपानी योजनाको औपचारिक सुभारम्भ गर्दै बाढीपछि स्वच्छ खानेपानीको अभाव झेलिरहेका नागरिकलाई पुनःसहज रूपमा खानेपानी उपलब्ध गराउन रेडक्रसले गरेको मानवीय कार्यको प्रशंसा गरे ।
नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखाका सभापति दुर्लभकुमार तामाङले विपद्का समयमा खानेपानीजस्तो आधारभूत आवश्यकता पूरा गर्न योजना पुनःस्थापना गर्नु रेडक्रसको मानवीय सेवाको महत्वपूर्ण हिस्सा भएको बताए ।
“विनाशकारी बाढीपछि खानेपानीको हाहाकार खेपिरहेका स्थानीयको जनजीवन पुनःसामान्य हुने विश्वास लिएका छौँ”, जिल्ला कार्यक्रम संयोजक सरोज थापाले भने ।
विसं २०८३ भदौ १७ गते सम्झौता भई सुरु भएको मर्मत कार्य निर्धारित समयभित्रै सम्पन्न गरिएको हो । योजना पुनः सञ्चालनमा आएसँगै लामो समयदेखि खानेपानीको समस्या झेलिरहेको स्थानीयवासीमा खुसी छाएको छ ।
बाढीपछिको प्रतिकार्यमा राहत तथा उद्धारसँगै प्रभावित समुदायका आधारभूत आवश्यकता तथा महत्वपूर्ण पूर्वाधारको पुनःस्थापनालाई प्राथमिकता दिँदै आएको रेडक्रसले खानेपानी योजना पुनःसञ्चालनमा ल्याएपछि स्थानीयको दैनिक जनजीवन थप सहज हुने अपेक्षा गरिएको छ ।
खानेपानीजस्तो आधारभूत सेवाको पुनःस्थापनाले बाढी प्रभावित समुदायलाई तत्काल राहत प्रदान गर्नुका साथै विपद्पछिको पुनःस्थापना र सामान्य जीवनतर्फ फर्किने प्रक्रियामा सहयोग पुगेको रेडक्रसले जनाएको छ ।






