फ्लाई दुबई घटना :सह–पाइलटको आक्रमणपछि भारतीय पाइलटको प्रशंसा

तेल अभिभ– उडानका क्रममा सह–पाइलटले अर्का पाइलटमाथि आक्रमण गरेपछि विमानलाई नियन्त्रणमा लिएर सम्भावित ठूलो दुर्घटना हुनबाट जोगाउन भूमिका खेलेको भन्दै इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भारतीय पाइलट र यात्रूहरूको प्रशंसा गरेका छन्।

दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको विमानमा सह–पाइलटले अर्का पाइलटमाथि आक्रमण गरेपछि विमान एक मिनेटभित्र करिब १७ हजार फिट तल झरेको थियो। त्यसपछि विमानको मार्ग परिवर्तन गरी साउदी अरेबियाको तबुक विमानस्थलमा आकस्मिक अवतरण गराइएको थियो।

विमानमा चालक दलसहित १७४ जना रहेको र तीमध्ये १६६ जना इजरायली नागरिक रहेको बताइएको छ। फ्लाईदुबईका अनुसार घटनापछि सबै यात्रु सुरक्षित छन्।

प्रधानमन्त्री नेतान्याहुले सह–पाइलटले विमान दुर्घटनामा पारेर यात्रुहरूको ज्यान जोखिममा पार्न खोजेको बताएका छन्। उनले संकटको समयमा यात्रुहरूले विमान नियन्त्रणमा लिन सहयोग गरेको भन्दै उनीहरूको प्रशंसा गरेका छन्। विशेषगरी घाइते भारतीय पाइलट स्मित मच्छरले देखाएको साहसका कारण ठूलो दुर्घटना टरेको नेतान्याहुको भनाइ छ।

भारतीय दूतावासका अनुसार घाइते पाइलट मच्छरको साउदी अरेबियास्थित अस्पतालमा उपचार भइरहेको छ। तबुक विमानस्थल सञ्चालन गर्ने कम्पनीका अनुसार सह–पाइलट पनि विमान अवतरणका क्रममा घाइते भएका छन्।

घटनापछि फ्लाईदुबईले अनुसन्धान जारी रहेकाले इजरायलतर्फका आफ्ना उडान अस्थायी रूपमा स्थगित गरेको जनाएको छ।

विमानमा रहेकी यात्रु मिरियम शिरा ओहायोनले केही समय विमान ‘धेरै हदसम्म नियन्त्रणबाहिर’ रहेको बताइन्। उनका अनुसार सह–पाइलटले पाइलटमाथि आक्रमण गरेपछि यात्रुहरूले उनलाई नियन्त्रणमा लिन सहयोग गरेका थिए।

अर्का यात्रु अल्मोग इटालीका अनुसार ककपिटनजिकै झगडा सुरु हुनुअघि विमानमा ठूलो अशान्ति भएको थियो। अगाडिका यात्रुहरूले स्थिति नियन्त्रणमा लिन सहयोग गरेको उनले बताए। साउदी अरेबियामा आकस्मिक अवतरण गरेपछि आफूहरूलाई त्यहाँ न्यानो स्वागत गरिएको उनको भनाइ छ।

इजरायलको विदेश मन्त्रालयले घटनालाई इजरायल र संयुक्त अरब इमिरेट्सबीचको सम्बन्धमा असर पार्ने उद्देश्यले गरिएको ‘आतंकवादी आक्रमणको प्रयास’ भनेको छ। रक्षामन्त्री इजरायल काट्जले पनि घटनालाई ‘जिहादी आतंकवादी आक्रमणको प्रयास’का रूपमा वर्णन गरेका छन्।

विदेशमन्त्री गिडियोन सारले संयुक्त अरब इमिरेट्सका शीर्ष कूटनीतिज्ञ अब्दुल्लाह बिन जायद अल नाह्यानसँग घटनाबारे कुराकानी गरेका छन्। उनका अनुसार दुवै पक्षले चरमपन्थी तत्वविरुद्ध सहकार्य गर्ने सहमति जनाएका छन्।

इजरायली सञ्चारमाध्यमका अनुसार विमान अपहरण हुन सक्ने आशंकामा सेनाले लडाकु विमानसमेत परिचालन गरेको थियो। विमानभित्र खिचिएको भिडियोमा टाउकोमा चोट लागेका एक यात्रुले सहयोग मागिरहेको देखिएको बताइएको छ।

घटना अक्टोबरको अन्त्यमा हुने भनिएको इजरायली निर्वाचनको केही साताअघि भएको हो। मंगलबार प्रधानमन्त्री नेतान्याहुले निर्वाचनअघि इजरायलका शत्रुहरूले आक्रमणको प्रयास गर्न सक्ने ‘संकेत’ देखिएको बताएका थिए।