संघीय संसद्को अधिवेशन भोलि राति १२ बजेदेखि अन्त्य गर्न सरकारको सिफारिस

काठमाडौँ । सरकारले संघीय संसद्को चालु अधिवेशन भोलि राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले संसद्को अधिवेशन अन्त्य गर्ने निर्णय गर्दै त्यसका लागि राष्ट्रपति कार्यालयमा पत्र पठाएको हो । सरकारको सिफारिसमा राष्ट्रपतिले संघीय संसद्को अधिवेशन अन्त्य गर्ने संवैधानिक व्यवस्था छ ।

संघीय संसद्को चालु अधिवेशन २०८३ साल वैशाख २८ गतेदेखि सुरु भएको थियो । यस अधिवेशनका क्रममा सरकारले प्रस्तुत गरेको बजेट तथा बजेटसँग सम्बन्धित विभिन्न विधेयक पारित भएका छन् ।

त्यसैगरी, संसद् अधिवेशन नरहेको समयमा सरकारले जारी गरेका अध्यादेश पनि यसै अधिवेशनबाट स्वीकृत भएका छन् । ती अध्यादेशले संशोधन गरेका विषयलाई समेटेर ल्याइएका अध्यादेश प्रतिस्थापन विधेयकहरू संसद्बाट पारित भई ऐनमा परिणत भएका छन् ।

चालु अधिवेशनमा मन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुनुका साथै समसामयिक विषयमा सरकारका तर्फबाट मन्त्रीहरूले संसद्मा सम्बोधन गरेका छन् । भने प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भने सञ्चालन हुन सकेको छैन।