काठमाण्डौ । सरकारी सेवामा कार्यरत महिला कर्मचारीले अब महिनावारीका बेला छुट्टै बिदा पाउन सक्ने भएका छन्। सरकारले संसद्मा दर्ता गरेको संघीय निजामती सेवासम्बन्धी विधेयकमा पहिलोपटक ‘महिनावारी/रजस्वला बिदा’को व्यवस्था प्रस्ताव गरिएको हो।
संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकको दफा १२५ मा निजामती कर्मचारीले पाउने विभिन्न प्रकारका बिदाको सूचीमा महिनावारी तथा रजस्वला बिदासमेत समावेश गरिएको छ।
प्रस्तावित व्यवस्था संसद्बाट पारित भएर ऐनका रूपमा कार्यान्वयनमा आए सरकारी सेवामा कार्यरत महिला कर्मचारीका लागि महिनावारी बिदाले कानुनी मान्यता पाउनेछ।
हाल प्रचलित निजामती सेवासम्बन्धी व्यवस्थामा महिनावारीका लागि छुट्टै बिदाको व्यवस्था छैन। महिला कर्मचारीले बिरामी बिदा, प्रसूति बिदा तथा अन्य प्रचलित बिदा उपयोग गर्दै आएका छन्।
त्यस्तै, निजी तथा अन्य क्षेत्रमा कार्यरत श्रमिकलाई समेट्ने श्रम ऐन, २०७४ मा पनि महिनावारी बिदालाई छुट्टै बिदाका रूपमा व्यवस्था गरिएको छैन। उक्त ऐनमा बिरामी बिदा, प्रसूति बिदालगायतका बिदाको व्यवस्था भए पनि रजस्वलाका लागि अलग्गै बिदाको प्रावधान छैन।
यसरी संसद्मा पुगेको नयाँ संघीय निजामती सेवा विधेयकले महिनावारी बिदालाई औपचारिक रूपमा कर्मचारीको बिदाको सूचीमा समेट्ने प्रस्ताव गरेको छ।
तर यो व्यवस्था तत्काल लागू भइसकेको भने होइन। विधेयक संसद्बाट पारित भई ऐन बनेपछि मात्रै प्रस्तावित महिनावारी बिदाले कानुनी रूप पाउनेछ।






