हिमलुङ हिमपहिरोमा थप चार शव फेला, मृतकको संख्या ११ पुग्यो

काठमाडौं । मनाङस्थित हिमलुङ हिमालमा गएको हिमपहिरोमा बेपत्ता भएकामध्ये थप चार जनाको शव फेला परेको छ ।

बेपत्ताको खोजीमा खटिएको नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनको टोलीले बिहीबार थप चार जनाको शव फेला पारेको जनाएको हो । पासाङकाजी शेर्पाको नेतृत्वमा रहेको अनुभवी माउन्टेन गाइड टोलीले खोजी तथा उद्धार कार्य जारी राखेको थियो ।

एसोसिएसनका अनुसार हिमपहिरोमा बेपत्ता भएकामध्ये चार जनाको शव फेला परेसँगै मृतक नेपालीको संख्या ११ पुगेको छ ।

गत असोज ९ गतेदेखि प्रतिकूल बनेको मौसमका कारण हिमलुङ हिमालको आधार शिविरमा हिमपहिरो गएको थियो । हिमपहिरोमा कुल १६ जना बेपत्ता भएका थिए । तीमध्ये हालसम्म ११ जनाको शव फेला परेको छ भने अझै पाँच जना बेपत्ता छन् ।