काठमाडौँ– थापाथलीमा मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
मृत्यु हुनेमा रौतहटको कटहरिया नगरपालिका–२ का २६ वर्षीय चन्द्रमान दास तत्मा रहेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा आज बिहान अन्नपूर्ण न्युरो अस्पतालमा मृत्यु भएको हो।
प्रहरीका अनुसार गएराति शंखमुलबाट थापाथलीतर्फ आउँदै गरेको बा४१प ४७०८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलको रेलिङमा ठोक्किएको थियो। त्यसपछि मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको बा प्र ०२–०६२ प ९६३१ नम्बरको स्कुटरसँग ठोक्किएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक र पछाडि सवार दुवै जनालाई उपचारका लागि अन्नपूर्ण न्युरो अस्पताल लगिएको थियो। स्कुटर चालक र पछाडि सवार यात्रुलाई भने राष्ट्रिय ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनामा रौतहट कटहरिया नगरपालिका–२ का २५ वर्षीय दिपेन्द्र दास, चितवनका २३ वर्षीय स्कुटर चालक सुदिप श्रेष्ठ र सर्लाहीका ३४ वर्षीय मोहन शाह घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।






