मनाङमा अलपत्र १६ पर्यटकको उद्धार

लमजुङ – मनाङमा अलपत्र परेका १६ जना इन्डोनेसियाली पर्यटकको आज हेलिकप्टरबाट उद्धार गरी लमजुङ ल्याइएको छ ।

डाइनेस्टी हेलिकप्टरमार्फत उनीहरूलाई मनाङको निस्याङ गाउँपालिका–१ स्थित घताङ एग्रो क्षेत्रबाट लमजुङको बेँसीसहर नगरपालिका–७, सहजीमा ल्याइएको हो ।

अन्नपूर्ण पदमार्गमा पदयात्राका लागि गएका उनीहरू असोज ८ देखि ११ गतेसम्म परेको लगातारको वर्षाका कारण विभिन्न स्थानमा पहिरो गएपछि घताङ एग्रो क्षेत्रमा अलपत्र परेका थिए । सडक तथा पदमार्गको अवस्था सहज नभएपछि हेलिकप्टरबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब उपरीक्षक जितेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

उद्धार गरिएका पर्यटकमा सिटी आलिया रहादियानी, अराफी अनुगेराह साप्रुदिन, सिटी अकिया नुरफद्ला, अजी बागुस सेतियावान, नाइरा हानिफ्फादिला नोअर बुदिमान, बेट्टी अगुस्टिना सुप्रियाटिन, मेटा अज जाह्रा पुत्री, मुहम्मद दिनी अकबर, मुहम्मद अल्लाम नाज्ह्लिफा, एएफआरएल आरएलजेडकेएल, सिफा अलिफा युसुफ, मुहम्मद राफ्दी फौजान, मुमान, मुहम्मद खैरुदिन, बेला ग्रासेभा अमान्दा पुत्री र दिनी अब्दिलाह रहेका छन् ।

लमजुङ ल्याइएपछि उनीहरू ग१ज ३७४० र बा.प्र.०१–००७ ख १६८० नम्बरका सवारीसाधनमार्फत पोखरातर्फ प्रस्थान गरेका छन् ।

लगातारको वर्षाका कारण अन्नपूर्ण पदमार्गसँगै बेँसीसहर–चामे सडकसमेत प्रभावित भएपछि पर्यटकको आवतजावतमा समस्या भएको प्रहरीले जनाएको छ । उद्धारका क्रममा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी हबल्दार गुञ्जबहादुर बरामको कमाण्डमा चार जनाको प्रहरी टोलीसमेत परिचालन गरिएको थियो ।