आईसीसीले क्रिकेटमा लागू गर्‍यो नयाँ नियम

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले क्रिकेटका नियममा विभिन्न महत्वपूर्ण परिवर्तन गरेको छ। आईसीसीले बिहीबार सार्वजनिक गरेका नयाँ नियम सन् २०२६ अक्टोबर १ वा त्यसपछि सुरु हुने अन्तर्राष्ट्रिय शृंखलामा लागू हुनेछन्। यसअघि नै सुरु भइसकेका शृंखलामा भने पुरानै नियम कायम रहनेछन्।

नयाँ व्यवस्थाअनुसार ब्याटिङ गर्ने क्रममा समय खेर फालेमा तेस्रो तथा त्यसपछिका प्रत्येक गल्तीमा विपक्षी टोलीलाई पाँच रन जरिवाना दिइनेछ। यसबाहेक बलको आकार तथा तौल, गुलाबी बलको प्रयोग, रनआउट र स्टम्पिङ, अन्तिम ओभर, टी–२० को विश्राम तथा लेग साइड वाइडसम्बन्धी नियममा समेत परिवर्तन गरिएको छ।

गुलाबी बलबाट दिनको टेस्ट खेलाउन सकिने

खराब प्रकाशका कारण खेल रोकिने समय घटाउने उद्देश्यले दिनको समयमा हुने टेस्टमा गुलाबी बल प्रयोग गर्ने परीक्षण गर्न सकिनेछ। त्यसका लागि खेल सुरु हुनुअघि दुवै टोलीको सहमति आवश्यक हुनेछ। गुलाबी बल प्रयोग गर्ने निर्णय भएपछि पूरै खेलमा त्यही बल प्रयोग गर्नुपर्नेछ। खेल सुरु भइसकेपछि रातो बलबाट गुलाबी बलमा परिवर्तन गर्न भने पाइने छैन।

पुरुष, महिला र जुनियर क्रिकेटमा फरक बल

आईसीसीले पुरुष, महिला र १३ वर्षमुनिका खेलाडीका लागि प्रयोग हुने बलको तौल तथा आकारको सीमा छुट्टाछुट्टै तोकेको छ।

पुरुष क्रिकेटमा बलको तौल १५५.९ देखि १६३ ग्राम र परिधि २२.४ देखि २२.९ सेन्टिमिटर हुनुपर्नेछ। महिलातर्फ तौल १४० देखि १५१ ग्राम र परिधि २१ देखि २२.५ सेन्टिमिटर तोकिएको छ। १३ वर्षमुनिका खेलाडीका लागि बलको तौल १३३ देखि १४४ ग्राम तथा परिधि २०.५ देखि २२ सेन्टिमिटर हुनेछ।

सामान्य मिसफिल्डलाई ओभरथ्रो नमानिने

स्टम्पमा बल प्रहार गरी रन रोक्ने वा रनआउट गर्ने प्रयासका क्रममा बल अन्यत्र गएमा मात्र त्यसलाई ओभरथ्रो मानिनेछ। बल रोक्ने वा अर्को क्षेत्ररक्षकसम्म पुर्‍याउने क्रममा भएको सामान्य मिसफिल्डलाई भने ओभरथ्रोका रूपमा गणना गरिने छैन।

बल पूर्ण रूपमा स्थिर भएको समय अम्पायरले निर्धारण गर्ने

अब बलर वा विकेटकिपरको हातमा बल हुनैपर्ने अवस्थालाई मात्र ‘पूर्ण रूपमा स्थिर’ भएको मानिने छैन। बल कहिले पूर्ण रूपमा स्थिर भयो भन्ने निर्णय अम्पायरले गर्नेछन्। अन्तिम बल वा निकै नजिकको खेल अवस्थाका लागि यो व्यवस्था महत्वपूर्ण हुने आईसीसीले जनाएको छ।

रनआउट र स्टम्पिङमा बलमाथि पूर्ण नियन्त्रण अनिवार्य

रनआउट वा स्टम्पिङ गर्दा क्षेत्ररक्षकले बलमाथि पूर्ण नियन्त्रण कायम गरेको हुनुपर्नेछ। बललाई हातले छोएर मात्र स्टम्प ढालेको अवस्थामा बलमाथि नियन्त्रण रहेको मानिने छैन।

अन्तिम ओभरमा विकेट झर्दैमा खेल अन्त्य नहुने

दिनको अन्तिम ओभरमा विकेट झरेपछि ओभर पूरा नभएको अवस्थामा खेल स्वतः समाप्त हुने छैन। मौसम तथा अन्य अवस्था अनुकूल भए बाँकी बल त्यही दिन खेलाइनेछ। बाँकी बल अर्को दिन खेलाउँदा अतिरिक्त समय लाग्ने भएकाले खेलको प्रभावकारिता बढाउन यस्तो व्यवस्था गरिएको आईसीसीले जनाएको छ।

टी–२० मा १५ मिनेटको विश्राम

टी–२० अन्तर्राष्ट्रियमा १५ मिनेटको निश्चित विश्राम समय तोकिएको छ। खेलका क्रममा समय गुमेको अवस्थामा भने विश्राम अवधि घटाएर न्यूनतम १० मिनेट कायम गर्न सकिनेछ।

ड्रिङ्क्स ब्रेकमा मुख्य प्रशिक्षक मैदानमा जान पाउने

एकदिवसीय र टी–२० क्रिकेटमा अब मुख्य प्रशिक्षकले ड्रिङ्क्स ब्रेकका क्रममा मैदानमा प्रवेश गरी खेलाडीसँग कुराकानी गर्न पाउनेछन्। महिला क्रिकेटमा भने यो व्यवस्था यसअघि नै लागू भइसकेको थियो।

लेग साइड वाइडसम्बन्धी नियम स्थायी

एकदिवसीय र टी–२० मा परीक्षणका रूपमा लागू गरिएको लेग साइड वाइडसम्बन्धी नियमलाई स्थायी बनाइएको छ। ब्याटरले बल फ्याँक्नुअघि वा बल फ्याँक्ने क्रममा आफ्नो स्थान परिवर्तन गरेमा वाइड निर्धारण गर्दा बल फ्याँकिएको क्षणमा उसको खुट्टाको अवस्थालाई आधार मानिनेछ। त्यसपछि ब्याटर अफ साइडतर्फ सरेको अवस्थालाई वाइड निर्धारणको आधार मानिने छैन।

आईसीसीका अनुसार नयाँ व्यवस्थाले क्रिकेटको गति, समय व्यवस्थापन, बलको मापदण्ड तथा जटिल खेल अवस्थासम्बन्धी निर्णय प्रक्रियालाई थप स्पष्ट र प्रभावकारी बनाउनेछ।