एसियाली खेलकुदमा सहभागिता जनाएर नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ । बीसौँ एसियाली खेलकुदमा सहभागिता जनाएर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ। नेपाली टोली बिहीबार राति जापानको टोकियोबाट काठमाडौँ आइपुगेको हो।

स्वदेश फर्किएको नेपाली टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारीले विमानस्थलमा स्वागत गरेका थिए।

यसपटक नेपालले पदक जित्न नसके पनि समूह चरणमा प्रभावशाली प्रदर्शन गरेको थियो। नेपालले टेस्ट राष्ट्र अफगानिस्तानलाई पाँच विकेटले पराजित गर्दै १२ वर्षपछि जित हात पारेको थियो।

समूह चरणको अन्तिम खेलमा आयोजक जापानसँगको खेल भने वर्षाका कारण प्रभावित भएपछि दुवै टोलीले अङ्क बाँडेका थिए। समूह विजेताका रूपमा क्वार्टरफाइनलमा प्रवेश गरेको नेपालले अन्तिम आठमा श्रीलङ्कासँग प्रतिस्पर्धा गरेको थियो।

श्रीलङ्काविरुद्धको क्वार्टरफाइनल खेल पनि वर्षाका कारण प्रभावित भएपछि नेपाल प्रतियोगिताबाट बाहिरियो। आइसिसी टी–२० अन्तर्राष्ट्रिय वरियतामा श्रीलङ्का नेपालभन्दा माथि रहेकाले वर्षाका कारण खेलको नतिजा आउन नसक्दा वरियताका आधारमा श्रीलङ्का अगाडि बढेको थियो।

एसियाली खेलकुदको क्रिकेटतर्फ नेपालले हालसम्म क्वार्टरफाइनल चरण पार गर्न सकेको छैन।