काठमाडौँ । देशका विभिन्न स्थानमा बाढी र पहिरोका कारण प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्। सडक अवरुद्ध हुँदा विभिन्न जिल्लामा यातायात सेवा प्रभावित भएको छ।
काठमाडौँ उपत्यका जोड्ने कान्तिलोकपथअन्तर्गत ललितपुरको बागमती गाउँपालिका–३ टाकुर्चेमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
बागमती प्रदेशकै रसुवामा बाढीका कारण मुख्य राजमार्गहरू अर्को सूचना जारी नभएसम्म पूर्ण रूपमा बन्द गरिएको छ।
गण्डकी प्रदेशका विभिन्न सडकखण्डमा पनि बाढीपहिरोले यातायात प्रभावित भएको छ। मनाङको बेँसीसहर हुँदै खाङ्सार जाने सडक बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। यस्तै, म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरी र अन्नपूर्ण गाउँपालिका–३ सुकेबगरमा पहिरो खसेपछि बेनी–जोमसोम सडकखण्ड ठप्प भएको छ।
नवलपरासी पूर्वको कालीगण्डकी करिडोरअन्तर्गत बुलिङटार र बौदीकालीका विभिन्न स्थानमा पहिरो खसेको छ। पहिरो पन्छाएर सडक एकतर्फी सञ्चालनमा ल्याइए पनि ठूला सवारीसाधन भने सञ्चालन हुन सकेका छैनन्।
यसैगरी, हुम्लामा पहिरोका कारण कर्णाली करिडोर तथा सिमकोट–हिल्सा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्। खार्पुनाथ, सर्केगाड, नाम्खा र सिमकोट गाउँपालिकाका विभिन्न स्थानमा पहिरो गएपछि यातायात सेवा प्रभावित भएको हो।
अवरुद्ध सडकखण्डमा पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याउन सम्बन्धित निकायले आवश्यक पहल गरिरहेका छन्।





