रोनाल्डोबिना पोर्चुगलको शानदार जित, डेनमार्क ४–२ ले पराजित

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोबिना मैदानमा उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिगअन्तर्गत रोमाञ्चक खेलमा डेनमार्कलाई ४–२ गोलले पराजित गरेको छ। कोपेनहेगनमा भएको खेलमा उत्कृष्ट पुनरागमनसहित जित निकाल्दै पोर्चुगलले आफ्नो प्रभावशाली यात्रा जारी राखेको हो।

पोर्चुगलले खेलको १५औँ मिनेटमा अग्रता लिएको थियो। जोआओ कान्सेलोले जोआओ फेलिक्स र गोन्कालो रामोससँगको तालमेलमा डेनमार्कका गोलरक्षक हर्मानसेनलाई छक्याउँदै गोल गरे।

तर डेनमार्कले २३औँ मिनेटमा बराबरी गोल फर्कायो। म्याहलेको पासमा मिकेल डाम्सगार्डले उत्कृष्ट फिनिसिङ गर्दै खेल १–१ को अवस्थामा पुर्‍याए।

बराबरीपछि पनि डेनमार्क लामो समय टिक्न सकेन। त्यसको तीन मिनेटमै पोर्चुगलले पुनः अग्रता बनायो। ब्रुनो फर्नान्डेसको पासमा गोन्कालो रामोसले गोल गर्दै पोर्चुगललाई २–१ ले अघि बढाए।

दोस्रो हाफको ५३औँ मिनेटमा डेनमार्कले पुनः बराबरी गर्‍यो। डाम्सगार्डको पासमा रासमुस होयलुण्डले पोर्चुगलका गोलरक्षक डियोगो कोस्टामाथिबाट सुन्दर चिप गर्दै गोल गरे।

त्यसपछि पोर्चुगलले खेलमा दबाब बढायो। ६७औँ मिनेटमा भिटिन्हाले गोल गर्दै टोलीलाई ३–२ को अग्रता दिलाए। ब्रुनो फर्नान्डेसको क्रसमा भिटिन्हाले हेडरमार्फत गोल गरेका थिए।

खेलको अन्तिम चरणमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका जोआओ फेलिक्सले डियोगो डालोटको पासमा गोल गर्दै पोर्चुगलको ४–२ को जित सुनिश्चित गरे।

यस जितसँगै पोर्चुगलले पछिल्ला १३ खेलमा १२ खेलमा अपराजित यात्रा कायम राखेको छ।