धौलीगङ्गाको बाँध खोलिने, महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महाकाली नदीको तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई दुई दिन सतर्कता अपनाउन आग्रह गरेको छ।

भारतको धारचुलास्थित धौलीगङ्गा जलविद्युत् परियोजनाले शनिबारदेखि सोमबारसम्म सिल्ट सफाइ गर्ने क्रममा बाँधका ढोका खोल्ने भएकाले महाकाली नदीको जलस्तर बढ्न सक्ने प्रशासनले जनाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीका अनुसार सिल्ट सफाइका लागि करिब ४८ घण्टा बाँधको ढोका खुला राखिनेछ। यस अवधिमा नदीको जलस्तर बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई पूर्वसतर्कता अपनाउन आग्रह गरिएको हो।

प्रशासनले जारी गरेको सूचनाअनुसार शनिबार राति १ बजेदेखि सोमबार राति १ बजेसम्म महाकाली नदीमा जलस्तर बढ्न सक्ने सम्भावना रहेको छ। सो अवधिमा नदी किनारमा नजान तथा आवश्यक सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ।