काठमाडौँ। साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११ दशमलव ९० अंकले घटेको छ। आज नेप्से २५८७ दशमलव २५ विन्दुमा झरेर बन्द भएको हो।
बजारमा कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्य घटेपछि नेप्सेमा गिरावट आएको हो। आज ६१ कम्पनीको सेयर मूल्य बढ्दा २०७ कम्पनीको मूल्य घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रहेको छ।
शुक्रबार ३५६ वटा स्क्रिप्टको ४३ हजार ६८५ पटक कारोबार भएको छ। दिनभरमा १ करोड १९ लाख १२ हजार ५५० कित्ता सेयर किनबेच हुँदा कुल ४ अर्ब २९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
आज अधिकांश उपसमूहमा गिरावट आएको छ। म्यानिफ्याक्चरिङ एन्ड प्रोसेसिङ समूहमा सबैभन्दा धेरै गिरावट देखिएको छ। यस्तै, लाइफ इन्स्योरेन्स, डेभलपमेन्ट बैंक र हाइड्रोपावर समूहको सूचक पनि घटेको छ।
आजको कारोबारमा एनएमबी बैंक र सिद्धार्थ बैंकका लगानीकर्ताले तुलनात्मक रूपमा बढी कमाएका छन्। सिन्धु विकास बैंकका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन्। उक्त कम्पनीको सेयर मूल्य ८ दशमलव ५५ प्रतिशतले घटेको छ।





