आईसीसी क्रिकेट विश्वकप छनोट दक्षिण अफ्रिका र नामिबियामा हुने

काठमाडौं । आईसीसी पुरुष एकदिवसीय विश्वकप २०२७ को अन्तिम छनोट प्रतियोगिता (क्वालिफायर) दक्षिण अफ्रिका र नामिबियाले संयुक्त रूपमा आयोजना गर्ने भएका छन्। १० टोली सहभागी हुने क्वालिफायर फेब्रुअरी २६ देखि मार्च २१ सम्म सञ्चालन हुनेछ।

विश्वकपको मुख्य प्रतियोगिताका लागि आयोजक दक्षिण अफ्रिका र जिम्बाबेसहित आईसीसी एकदिवसीय वरीयताका शीर्ष आठ टोली स्वतः छनोट भइसकेका छन्। स्वतः छनोट हुने टोलीमा भारत, न्युजिल्यान्ड, पाकिस्तान, अस्ट्रेलिया, इंग्ल्यान्ड, श्रीलंका, अफगानिस्तान र बंगलादेश छन्।

बाँकी चार स्थानका लागि १० टोलीले क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछन्। यसमा वेस्ट इन्डिज र आयरल्यान्डसँगै आईसीसी विश्व क्रिकेट लिग–२ का शीर्ष चार टोली तथा विश्वकप छनोट प्लेअफबाट आउने चार टोली सहभागी हुनेछन्।

हाल लिग–२ को शीर्ष चारमा स्कटल्यान्ड, अमेरिका, नेदरल्यान्ड्स र ओमान रहेका छन्। नामिबिया, क्यानडा, नेपाल र यूएई भने पुछारका चार स्थानमा छन्। लिग–२ का केही शृंखला भने अझै बाँकी छन्।

लिग–२ को पुछारमा रहने चार टोलीसँगै च्यालेन्ज लिगका शीर्ष चार टोली इटाली, युगान्डा, जर्सी र कुवेतले विश्वकप छनोट प्लेअफ खेल्नेछन्। प्लेअफ डिसेम्बर १ देखि २२ सम्म सञ्चालन हुने तय भए पनि यसको आयोजनास्थल टुंगो लागेको छैन।

क्वालिफायरको विजेता सिधै विश्वकपको मुख्य प्रतियोगितामा पुग्नेछ। बाँकी तीन टोलीले नामिबियामा तीन खेलको सुपर सिरिज खेल्नेछन्। उक्त सिरिजको विजेताले पनि विश्वकपको मुख्य चरणमा स्थान बनाउनेछ।

नामिबियाले भने क्वालिफायरको प्लेअफ चरणबाटै स्थान सुरक्षित गर्ने अवस्था टार्न सक्छ। त्यसका लागि अक्टोबर ३ देखि सुरु हुने खेलमा उसले अमेरिका र यूएईविरुद्ध दुई–दुई खेल जित्नुपर्नेछ। साथै ओमान, नेपाल र क्यानडाबीच हुने खेलको नतिजा पनि नामिबियाको पक्षमा आउनुपर्नेछ।

यसअघि आईसीसीले क्वालिफायर फेब्रुअरी २२ देखि मार्च २३ सम्म सञ्चालन हुने संकेत गरेको थियो। तर, गत साता दुबईमा बसेको आईसीसी बैठकले प्रतियोगिताको नयाँ मिति फेब्रुअरी २६ देखि मार्च २१ सम्म तय गरेको हो।