छ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

काठमाडौँ -बाढीपहिरोका कारण छ दिनदेखि अवरुद्ध बेँसीसहर-चामे सडक सञ्चालनमा आएको छ।

नासोँ गाउँपालिका-३ खोत्रो र चामे गाउँपालिका-५ कोतोमा खसेको पहिरो तथा सडकमा थुप्रिएको ढुङ्गामाटो हटाएपछि सडक सञ्चालनमा आएको डुम्रे-बेँसीसहर-चामे सडक आयोजनाका सूचना अधिकारी नवीन विष्टले जानकारी दिए।

बाढीपहिरोका कारण बेँसीसहर-चामे सडकका विभिन्न खण्डमा पहिरो खस्नुका साथै कतिपय स्थानमा सडक भासिएको थियो। सडक सञ्चालनमा आएसँगै मनाङतर्फ खाद्यान्नलगायत दैनिक उपभोग्य सामग्री ढुवानी तथा आवागमन सहज भएको छ।