कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो

काठमाडौँ– लोकतान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला संक्रमण केही क्षेत्रमा क्रमशः नियन्त्रणतर्फ उन्मुख भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। पछिल्ला केही सातायता विभिन्न स्वास्थ्य क्षेत्रमा नयाँ संक्रमित फेला नपरेको जनाइएको छ। यद्यपि, संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ हजार नाघेको छ।

कंगोका स्वास्थ्यमन्त्री रोजर काम्बाले शुक्रबार राजधानी किन्शासामा आयोजित पत्रकार सम्मेलनमा इबोला संक्रमण अहिले प्रान्तभर फैलिएको अवस्थाबाट सीमित स्वास्थ्य क्षेत्रमा केन्द्रित हुँदै गएको जानकारी दिए।

शुक्रबार सार्वजनिक गरिएको विवरणअनुसार सातवटा प्रान्तमा फैलिएको संक्रमणका क्रममा हालसम्म ८ हजार ३ सय जनामा संक्रमण पुष्टि भएको छ भने ४ हजार १८ जनाको मृत्यु भएको छ। संक्रमितमध्ये मृत्यु हुनेको दर ४८ दशमलव ४ प्रतिशत रहेको छ। हालसम्म २ हजार १ सय ६२ जना उपचारपछि निको भएका छन्।

प्रकोप सुरु भएयता सातवटै प्रान्तका ६३ स्वास्थ्य क्षेत्रमा संक्रमण देखिएको थियो। तीमध्ये १२ स्वास्थ्य क्षेत्रमा पछिल्ला ४२ दिनदेखि नयाँ संक्रमित फेला परेका छैनन्।

स्वास्थ्यमन्त्री काम्बाका अनुसार संक्रमणको अवस्था स्वास्थ्य क्षेत्रअनुसार फरक रहे पनि पछिल्लो समय नयाँ संक्रमित फेला पर्ने क्षेत्रको संख्या क्रमशः घट्दै गएको छ।

यसैबीच, अन्तर्राष्ट्रिय चिकित्सा सहायता संस्था सीमा विनाका चिकित्सक (Médecins Sans Frontières) ले आधिकारिक तथ्यांकभन्दा वास्तविक संक्रमित र मृतकको संख्या अझ बढी हुन सक्ने जनाएको छ। रोगको निगरानी तथा संक्रमितको पहिचानमा देखिएका चुनौतीका कारण केही घटना सरकारी तथ्यांकमा समेटिन नसकेको हुन सक्ने संस्थाको भनाइ छ।

मे महिनामा घोषणा गरिएको यो संक्रमण लोकतान्त्रिक गणतन्त्र कंगोमा हालसम्म देखिएको सबैभन्दा ठूलो र गम्भीर इबोला प्रकोप बनेको जनाइएको छ। विश्वव्यापी रूपमा भने सन् २०१४ देखि २०१६ सम्म पश्चिम अफ्रिकामा फैलिएको इबोला प्रकोपपछि यो दोस्रो ठूलो प्रकोप भएको बताइएको छ।