दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम– मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा विभिन्न विपद्का ४५९ घटना भएका छन् । ती घटनामा ९२ जनाको मृत्यु भएको छ भने ५१० परिवार प्रभावित भएका छन् ।

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार साउन र भदौ महिनामा विपद्का घटनामा परी ४७ पुरुष, १९ महिला र २६ बालबालिकासहित ९२ जनाले ज्यान गुमाएका हुन् ।

यस अवधिमा आगलागी, करेन्ट लाग्ने, पानीमा डुब्ने, बाढी, चट्याङ, जङ्गली जनावरको आक्रमण तथा डुबानलगायतका घटना भएका छन् । विपद्का कारण मानवीय क्षतिसँगै घर, पशुचौपाया तथा अन्य भौतिक संरचनामा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार करेन्ट लागेर मृत्यु हुनेको सङ्ख्या सबैभन्दा बढी छ । दुई महिनामा करेन्ट लागेर ३९ जनाको मृत्यु भएको मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए ।

त्यस्तै, पानीमा डुबेर २९ जनाको मृत्यु भएको छ । जङ्गली जनावरको आक्रमणबाट पाँच, चट्याङबाट तीन र आगलागीबाट एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य विभिन्न विपद्का घटनामा १३ जनाले ज्यान गुमाएका छन् ।

विपद्मा मृत्यु हुनेमा बालबालिकाको सङ्ख्या पनि उल्लेख्य रहेको प्रहरीले जनाएको छ । बाढी, डुबान, पानीमा डुब्ने, करेन्ट लाग्ने तथा अन्य जोखिमपूर्ण घटनामा बालबालिका प्रभावित हुने गरेका छन् ।

प्रदेश प्रहरी कार्यालयका अनुसार दुई महिनामा आगलागीका ११२, करेन्टका १०७, पानीमा डुब्ने ३७, जङ्गली जनावरको आक्रमणका ३२, बाढीका १२ र चट्याङका १० घटना भएका छन् ।

वरिष्ठ प्रहरी उपरीक्षक ढकालले आगलागी र करेन्टसँग सम्बन्धित घटनाबाट हुने मानवीय क्षति न्यूनीकरणका लागि पूर्वसावधानी र जनचेतना आवश्यक रहेको बताए ।

प्रहरीको तथ्याङ्कअनुसार ४५९ विपद्का घटनाबाट रु दुई करोड ९२ लाख ४७ हजार ५५५ बराबरको भौतिक क्षति भएको छ । आगलागीबाट मात्रै २१२ परिवारका घर जलेका छन् भने रु दुई करोड ७० लाख १३ हजार ३५० बराबरको क्षति भएको छ ।

बाढी तथा पहिरोबाट रु ११ लाख ९० हजार, चट्याङबाट रु तीन लाख, जङ्गली जनावरको आक्रमणबाट रु दुई लाख ७२ हजार तथा अन्य विपद्का घटनाबाट रु चार लाख ६३ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

विपद्का कारण ५१० परिवार प्रभावित भएका छन् । कतिपय परिवार विस्थापित भएका छन् भने कतिपयको घर तथा सम्पत्तिमा क्षति पुगेको छ ।

वर्षायाममा बाढी तथा डुबानका कारण ग्रामीण बस्ती, सडक र अन्य संरचनामा समेत असर पर्ने गरेको प्रहरीको भनाइ छ । नदी तथा खोलाको पानी बस्तीमा पस्दा स्थानीयवासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने अवस्था आउने गरेको ढकालले बताए ।

उनका अनुसार विपद्का समयमा प्रभावितको उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण तथा राहत व्यवस्थापनका लागि स्थानीय प्रशासन, स्थानीय तह र सुरक्षा निकायबीच समन्वय हुँदै आएको छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार विपद् व्यवस्थापन तथा उद्धार कार्यमा दुई महिनाको अवधिमा दुई हजार ८६९ जना प्रहरी परिचालन गरिएको छ । बाढी, डुबान तथा अन्य जोखिमपूर्ण अवस्थामा प्रहरी टोलीलाई तत्काल परिचालन गर्ने गरिएको र मधेस प्रदेशका आठवटै जिल्लामा सुरक्षा निकायलाई विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा राखिएको कार्यालयले जनाएको छ ।