काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंको खुलामञ्चमा सुरु हुँदैछ। पाँच दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन समारोहका लागि खुलामञ्चमा मुख्य मञ्चसहित आवश्यक संरचना निर्माण तथा सजावटको काम अन्तिम चरणमा पुगेको छ।
महाधिवेशनको उद्घाटन समारोह आज दिउँसो २ बजे हुने कांग्रेसले जनाएको छ। असोज १८ देखि २२ गतेसम्म सञ्चालन हुने महाधिवेशनमा देशभर तथा विदेशबाट ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन्। अधिकांश प्रतिनिधि काठमाडौं आइसकेका छन् भने केही आउने क्रम जारी रहेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए। प्रतिनिधिहरूको बसोबासका लागि राजधानीका विभिन्न होटलमा व्यवस्था गरिएको छ।
उद्घाटन समारोहपछि असोज १९ र २० गते बन्दसत्र सञ्चालन हुनेछ। असोज २१ र २२ गते नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाउने कांग्रेसको कार्यतालिका छ।
महाधिवेशनको उद्घाटन समारोहमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई निमन्त्रणा गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतलगायत सहभागी हुने अपेक्षा गरिएको छ।
कांग्रेसले भारत, चीन, अमेरिका लगायत विभिन्न देशका राजनीतिक दल तथा संस्थाका प्रतिनिधिलाई समेत निमन्त्रणा गरेको छ। सोसलिस्ट इन्टरनेसनलकी कार्यकारी संयोजक चन्ताल काम्बिवा नेपाल आइसकेकी छन्। अन्य देशका राजनीतिक दलबाट प्रतिनिधि तथा शुभकामना सन्देश प्राप्त भएको कांग्रेसले जनाएको छ।
महाधिवेशनका लागि खुलामञ्चमा मुख्य मञ्चसँगै बन्दसत्र सञ्चालन गर्न तीनवटा हल तयार पारिएको छ। सञ्चारकर्मीका लागि मिडिया सेन्टर, स्वास्थ्य सेवाका लागि हेल्थ डेस्क तथा प्रतिनिधिहरूका लागि भोजनको व्यवस्था भृकुटीमण्डपमा गरिएको भोजन व्यवस्थापन समितिका संयोजक तिलक रानाभाटले जानकारी दिए।
महाधिवेशनले कांग्रेसको नयाँ नेतृत्व चयन गर्नेछ। सभापति गगनकुमार थापाले राजनीतिक तथा नीतिगत दस्तावेज प्रस्तुत गर्ने कार्यक्रम छ। यस्तै, उपसभापति, महामन्त्री र कोषाध्यक्षले पनि आ–आफ्ना प्रतिवेदन प्रस्तुत गर्नेछन्।
असोज १९ गते उम्मेदवारी मनोनयनको कार्यक्रम तय गरिएको छ। त्यसपछि असोज २१ र २२ गते निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गरिनेछ। मतदानका लागि खुलामञ्चसँगै राष्ट्रिय सभागृह र नेपाल प्रज्ञा–प्रतिष्ठानमा व्यवस्था गर्ने तयारी भइरहेको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए।






