होर्मुजमा इरानद्वारा सात तेल ट्यांकरलाई निशाना बनाएको दाबी

तेहरान। इरानको इस्लामिक रिभोलुसन गार्ड कर्प्स (आईआरजीसी) को नौसेनाले पछिल्लो पाँच दिनमा होर्मुज जलडमरूमध्यमा कम्तीमा सातवटा तेल ट्यांकरलाई निशाना बनाएको इरानको अर्धसरकारी फर्स समाचार एजेन्सीले जनाएको छ।

फर्सका अनुसार आईआरजीसीले पछिल्ला दिनहरूमा दैनिक एकभन्दा बढी तेल ट्यांकरलाई निशाना बनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूमध्य खुला रहेको र अमेरिकाको नियन्त्रणमा रहेको दाबी गरिरहेका बेला उक्त घटनाक्रम सार्वजनिक भएको हो।

फर्सले स्वतन्त्र सैन्य पर्यवेक्षक मेन्चओसिन्टलाई उद्धृत गर्दै शुक्रबार जलडमरूमध्यमा दुईवटा तेल ट्यांकरमा विस्फोट भएको जनाएको छ। तीमध्ये एउटा जलमार्गको प्रवेश क्षेत्रमा र अर्को बाहिरिने क्रममा रहेको बताइएको छ।

मेन्चओसिन्टका अनुसार पछिल्ला चार दिनमा कुवेतका अल फुन्टास र काजिमाह–३ तथा संयुक्त अरब इमिरेट्सका सिनबाड, मेर्सिन प्रोस्पेरिटी र अल रुवाइस नामका जहाज पनि प्रभावित भएका छन्।

सिन्ह्वाका अनुसार इरानले फेब्रुअरी २८ देखि होर्मुज जलडमरूमध्यमा निगरानी तथा नियन्त्रण थप कडा बनाएको छ। इरानले इजरायल र अमेरिकासँग सम्बन्धित वा ती देशसँग जोडिएका जहाजलाई सुरक्षित मार्ग उपलब्ध गराउन रोक लगाएको जनाएको छ।

इरानी भू–भागमा भएको संयुक्त हमलापछि यस्तो कदम चालिएको इरानको भनाइ छ।

– रासस/सिन्ह्वा