बेत्रावतीको बेलीब्रिज दसैँअघि सञ्चालनमा आउने

रसुवा  -रसुवा–नुवाकोट सीमास्थित बेत्रावतीको फलाखुखोलामा निर्माण भइरहेको बेलीब्रिज दसैँअघि नै सञ्चालनमा ल्याउने तयारी गरिएको छ। नेपाली सेनाको नेतृत्वमा निर्माण भइरहेको पुल सञ्चालनमा आएपछि भदौमा आएको बाढीका कारण अवरुद्ध पासाङल्हामु मार्गमा पुनः सडक यातायात सहज हुने अपेक्षा गरिएको छ।

गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले बेत्रावती बजार क्षेत्रमा ठूलो क्षति पुर्‍याउनुका साथै फलाखुखोलामा रहेका पुरानो र नयाँ दुवै पक्की पुल बगाएको थियो। पुल बगेपछि काठमाडौँ–नुवाकोट हुँदै रसुवा जोड्ने सडक यातायात प्रभावित भएको थियो।

नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार गल्छी–मैलुङ–स्याफ्रुबेँसी सडक सुधार आयोजनाले आगलीटार–बेत्रावती सडकखण्ड सञ्चालनमा ल्याएपछि बेलीब्रिज निर्माणका लागि आवश्यक सामग्री निर्माणस्थलसम्म पुर्‍याउन सहज भएको छ।

उनका अनुसार बेलीब्रिज जडानका लागि आवश्यक सामग्री बेत्रावतीस्थित निर्माणस्थलमा पुर्‍याइसकिएको छ। बाढी प्रभावित नागरिकलाई राहत तथा आवागमन सहज बनाउने सरकारी नीति र कार्यक्रमअनुसार बडादसैँअघि नै पुल सञ्चालन गर्ने लक्ष्यसहित काम भइरहेको छ।

पुल भत्किएपछि रसुवाको दक्षिणी तथा उत्तरी क्षेत्रबीचको आवागमनसँगै दैनिक उपभोग्य वस्तुको ढुवानी र अत्यावश्यक सेवासमेत प्रभावित हुँदै आएको छ। बेलीब्रिज सञ्चालनमा आएपछि राजधानी काठमाडौँसँग रसुवाको सडक सम्पर्क पुनः सहज हुने अपेक्षा गरिएको छ।

संविधानसभा सदस्य छोवाङ तेन्जिङ तामाङले दसैँअघि नै बेत्रावतीमा पुल सञ्चालनमा आए राष्ट्रिय चाडपर्वका बेला सर्वसाधारणको आवतजावत सहज हुने बताए। उहाँले नुवाकोट हुँदै काठमाडौँसँग रसुवाको सडक सम्पर्क पुनः स्थापित हुने विश्वास व्यक्त गर्दै बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा यातायात सञ्चालनका लागि सरकार र नेपाली सेनाले गरेको कामको प्रशंसा गरे।