लोकतन्त्रको भविष्यप्रति चिन्ता छ : शङ्कर पोखरेल

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुकमा लोकतन्त्रको भविष्यप्रति गम्भीर चिन्ता उत्पन्न भएको बताएका छन्। उनले सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै लोकतान्त्रिक मूल्य–मान्यता र संसदीय प्रणालीको संरक्षणमा राजनीतिक दलहरू गम्भीर हुनुपर्नेमा जोड दिएका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पोखरेलले जनताबाट विश्वास प्राप्त प्रधानमन्त्रीले संसद् र जनताको आवाजलाई बेवास्ता गरिरहेको आरोप लगाए।

उनले भने, “लोकतन्त्रको भविष्यप्रति चिन्ता छ। जनताले विश्वास गरेको प्रधानमन्त्री संसद्लाई सुन्नुहुन्न, जनतालाई सुन्नुहुन्न।”

सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै पोखरेलले मुलुक लोकतान्त्रिक शासन प्रणालीमा अघि बढिरहेको हो कि अधिनायकवादतर्फ उन्मुख भइरहेको हो भन्ने प्रश्नसमेत गरे।

“हामी जनताको शासनमा हिँड्दै छौँ कि अधिनायकको बाटोमा हिँडेका छौँ?” उनले प्रश्न गरे।

पोखरेलले लोकतन्त्रको संस्थागत विकास तथा संसदीय प्रणालीको मर्यादा कायम राख्न प्रमुख राजनीतिक दलहरूबीच जिम्मेवार र गम्भीर भूमिका आवश्यक रहेको बताए।