कांग्रेस महाधिवेशनको बन्दसत्र भोलि बिहान ९ बजे, दिउँसो उम्मेदवारी दर्ता

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्दसत्र सोमबार बिहान ९ बजेदेखि सुरु हुने भएको छ।

आइतबार काठमाडौंको खुलामञ्चमा महाधिवेशनको उद्घाटन सत्र सम्पन्न भएसँगै पहिलो दिनका निर्धारित कार्यक्रम सकिएका छन्।

महाधिवेशनको दोस्रो दिन सोमबार बिहान ७ः३० बजे भृकुटीमण्डपमा महाधिवेशन प्रतिनिधिका लागि ब्रेकफास्टको व्यवस्था गरिएको छ। त्यसपछि बिहान ९ बजे खुलामञ्चमा बन्दसत्र सुरु हुनेछ।

बन्दसत्रमा पार्टी सभापति गगनकुमार थापाले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ। त्यस्तै, पार्टीको विधान मस्यौदासमेत बन्दसत्रमा प्रस्तुत गरिनेछ।

बन्दसत्रमा सहभागी प्रतिनिधिका लागि बिहान ११ बजे खानाको व्यवस्था गरिएको कांग्रेसले जनाएको छ। त्यसपछि दिउँसो १ बजेदेखि राष्ट्रिय सभागृहमा केन्द्रीय कार्यसमितिका विभिन्न पदका लागि उम्मेदवारी दर्ता सुरु हुनेछ।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्दसत्र तथा अन्य कार्यक्रम असोज १९ र २० गते सञ्चालन हुनेछन्। निर्वाचनसम्बन्धी कार्यक्रम भने असोज २१ र २२ गतेका लागि तय गरिएको छ।