काठमाडौं । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई निलम्बन गरेको छ।
मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिअनुसार सशस्त्र प्रहरी बलले दाहालले सुरक्षा सम्बन्धी संवेदनशील सूचना चुहावट गरी पदीय आचरणविपरीत काम गरेको भन्दै कारबाहीका लागि सिफारिस गरेको थियो।
उक्त सिफारिसका आधारमा गृह मन्त्रालयले असोज १९ गतेको निर्णयबाट दाहाललाई निलम्बन गरेको हो। घटनाको छानबिनका लागि मन्त्रालयले जाँचबुझ अधिकृतसमेत तोकेको जनाएको छ।
जाँचबुझ अधिकृतलाई तीन दिनभित्र अनुसन्धान पूरा गरी प्रतिवेदन पेश गर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ। छानबिनबाट प्राप्त निष्कर्षका आधारमा दाहालमाथि थप कानुनी प्रक्रिया अघि बढाइने मन्त्रालयको भनाइ छ।
एआईजी दाहालको पदावधि यही असोज २८ गते समाप्त हुँदैछ।





