चितवन । बिलबिजकबिना मोबाइल बिक्री तथा ओसारपसार गरेको आरोपमा चितवन प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । उनीहरूको साथबाट विभिन्न कम्पनीका ६३ थान मोबाइल तथा विद्युतीय उपकरण बरामद गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–१० हाकिमचोकमा बिलबिजकबिना मोबाइल बिक्री भइरहेको सूचनाका आधारमा प्रहरीले ४१ वर्षीय दीपक प्रसाईंलाई पक्राउ गरेको हो । प्रसाईंले सञ्चालन गरेको दीपक मोबाइलबाट एप्पलका विभिन्न सिरिजका ५० थान आइफोन, सामसुङका चार, रेडमीका दुई, एप्पलको एक थान आइप्याड र भिभोको एक थान मोबाइल गरी ५८ थान मोबाइल तथा उपकरण बरामद गरिएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवले जानकारी दिए ।
त्यस्तै, भरतपुर महानगरपालिका–१ रामनगर क्षेत्रमा बिलबिजकबिना मोबाइल ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरीले २८ वर्षीय उमनन्द भुसाललाई पक्राउ गरेको छ । उनको साथबाट बिलबिजकबिना बोकेर ल्याइएका सामसुङका पाँच थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई बरामद मोबाइल तथा उपकरणसहित आवश्यक कानुनी कारबाहीका लागि भन्सार कार्यालय वीरगञ्ज, पर्सा पठाइएको प्रहरी नायब उपरीक्षक यादवले बताए । उनीहरूलाई असोज १८ गते पक्राउ गरिएको हो।






