मुस्ताङ । अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत मनाङ–मुस्ताङ जोड्ने थोरङला पासमा जमेको हिउँ पन्छाएर पदमार्ग पुनः सञ्चालनमा ल्याइएको छ ।
मुक्तिनाथ होटल एसोसिएसनको पहलमा २० जनाको टोलीले सोमबार थोरङला पास क्षेत्रमा जमेको बाक्लो हिउँ हटाएपछि पदयात्रा सहज भएको हो । भारी हिमपातका कारण अवरुद्ध बनेको पदमार्ग हिउँ पन्छाएसँगै पर्यटकका लागि खुला भएको मुक्तिनाथ होटल एसोसिएसनले जनाएको छ ।
एसोसिएसनका अध्यक्ष सुरज गुरुङका अनुसार असोज ८ देखि ११ गतेसम्म भएको भारी हिमपातले थोरङला पास पदमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो । त्यसपछि उक्त क्षेत्रमा पर्यटकको आवागमनसमेत रोकिएको थियो ।
लमजुङको बेँसीसहर हुँदै मनाङबाट थोरङला पास पार गरेर विदेशी पर्यटक मुस्ताङको मुक्तिनाथ पुग्ने गर्छन् । अन्नपूर्ण चक्रीय पदमार्गको महत्वपूर्ण खण्डका रूपमा रहेको थोरङला पास साहसिक पदयात्राका लागि विदेशी पर्यटकको रोजाइमा पर्ने गरेको छ ।
अक्टोबरदेखि नोभेम्बरसम्मको समय थोरङला पासमा पदयात्राका लागि उपयुक्त मानिन्छ । मनाङ–मुस्ताङ जोड्ने अन्नपूर्ण चक्रीय पदमार्गमा वर्षमा करिब पाँच महिना मात्रै पर्यटकीय गतिविधि हुने गर्छ ।
विश्वकै चर्चित पदमार्गमध्ये पर्ने राउन्ड अन्नपूर्णमा थोरङला पास पार गरेर मनाङबाट मुस्ताङ आउने पर्यटकलाई अब पदयात्रामा समस्या नहुने होटल व्यवसायीहरूले बताएका छन् ।





