काठमाडौँ । यस वर्षको बडादसैँअन्तर्गत विजया दशमीको टीकाको उत्तम साइत कात्तिक ४ गते बुधबार बिहान १० बजेर २६ मिनेटमा निर्धारण गरिएको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सार्वजनिक गरेको दसैँको साइतअनुसार विजया दशमीका दिन बिहान ८ बजेर ४९ मिनेटमा देवी विसर्जन गरेपछि बिहान १० बजेर २६ मिनेटमा टीका लगाउनु उत्तम हुनेछ। टीका लगाउँदा टीका लगाइमाग्ने व्यक्ति पश्चिम दिशातर्फ फर्किनुपर्ने समितिले जनाएको छ।
यस वर्ष असोज २५ गते आइतबार नवरात्रारम्भ तथा घटस्थापना हुनेछ। घटस्थापनाको शुभसाइत बिहान ११ बजेर ४७ मिनेटमा तोकिएको छ। सो दिन चित्रा नक्षत्र र वैधृति योगसमेत पर्ने भएकाले घटस्थापनाअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नु शास्त्रसम्मत हुने समितिको भनाइ छ।
असोज २६ गते सोमबार बिहान १० बजेर ७ मिनेटमा झण्डा फेर्ने शुभसाइत रहेको छ। झण्डा फेर्दा पश्चिम मोहडा गर्नुपर्नेछ। असोज २९ गते बिहीबार श्रीपचली भैरव यात्रा हुनेछ।
असोज ३१ गते शनिबार फूलपाती मनाइनेछ। उक्त दिन श्री तुलजाभवानी यात्राको शुभसाइत बिहान ७ बजेर ३७ मिनेट र स्थिरासनको साइत बिहान १० बजेर ३९ मिनेटमा तोकिएको छ।
कात्तिक १ गते आइतबार महाअष्टमी तथा कालरात्रि र कात्तिक ३ गते मंगलबार महानवमी मनाइनेछ।
कात्तिक ४ गते बुधबार विजया दशमीका दिन देवी विसर्जनपछि टीका लगाइनेछ। सोही दिन श्री तुलजाभवानी यात्राको शुभसाइत बिहान १० बजेर ५१ मिनेट र स्थिरासनको साइत बिहान ११ बजेर ५२ मिनेटमा रहेको छ। खड्गयात्रा पनि सोही दिन हुनेछ।
दसैँको अन्तिम दिन कात्तिक ८ गते आइतबार अखिलबलिपूर्ति तथा कोजाग्रत पूजा गरिने समितिले जनाएको छ।





