२४ जेठ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले सरकारमा राजस्व उठाउन सक्ने योजना र क्षमता नभएको बताएका छन् ।
शनिवार प्रतिनिधि सभाको बैठकमा विनियोजित बजेटको खर्च कटौती प्रस्ताव उपर आफ्नो धाराणा राख्दै सांसद रिजालले सरकारसँग पूँजीगत खर्च गर्ने क्षमता पनि नभएको र इमाान्दारिता पनि देखाउन नसकेको बताए ।
कोरोना महामारी नियन्त्रण र विदेशमा जनता अलपत्र परेको भन्दै उनले सरकार यसतर्फ नलागेर कार्पेट किन्न थालेको उल्लेख गरे ।
प्रतिनिधिसभामा बोल्दै उनले अर्थमन्त्रालयको चालू खर्च २५ अर्बबाट घटाएर गत बर्षझै ८ अर्बमा राखियोस भन्ने प्रस्ताव गरेका छन् ।
अहिले कोरोना संक्रमण ३ हजार पुगेको र १० हजार कट्छ भन्ने चिन्ता रहेको बताए । उनले बोर्डरमा मान्छे आइरहेको, उनीहरुको स्वास्थ्य परिक्षण राम्रोसँग नगर्दा एकजना मात्र संक्रमित भए सारा क्वारेन्टाइन र गाउँमा बृद्ध, दीर्घरोगीलाई फैलन सक्ने कुरामा जोड दिए ।
उनले भने, ‘अहिले साना साना कुरामा बजेट छुट्याउन आवश्यक छैन । अर्थतन्त्र संकुचित हुँदैछ । यो वर्ष आर्थिक बृद्धि हुने कुनै संकेत देखिँदैन । उत्पादन नबढ्ने र बाहिरबाट आउने रेमिट्यान्समा २० प्रतिशत कमी हुने देखिएको र खर्चयोग्य आम्दानी ५ प्रतिशतले घट्ने चिन्ता छ । असार मसान्तसम्म के हुन्छ भनेर अनुमान गर्न नसक्ने अर्थमन्त्रालयले आगामी आर्थिक बर्षका लागि बजेट प्रस्तुत गरेको छ ।’
सरकारको आम्दानीभन्दा १ सय ९० अर्ब बढी खर्च भएको सांसद रिजाललले बताए । तत्कालै एक डेढ महिनाभित्र दश बाह्र अर्बभन्दा बढी खर्च हुने अवस्था रहेको बताउँदै हिजो ढुकुटी रित्याएको छ भन्ने सरकारले अहिले के गरेको छ भन्दै प्रश्न गरे । राष्ट्रिय गौरवका आयोजनाका लागि भनेर अर्थमन्त्रालयले ६७ अर्ब राखेको र सरकारसँग ती आयोजना अघि बढाउन सक्ने क्षमता नभएको उनले बताए ।
सामाजिक सुरक्षाको नामा १ सय २७ अर्ब, सेवा निबृतको सुविधा ३८ अर्ब बढ्ने र भैपरी आउने खर्च १० अर्ब बढ्ने भन्दै ती खर्च गर्नसक्ने क्षमता र इमान्दारिता सरकारमा नरहेको नेता रिजालले बताए ।
सांसद रिजालले सरकारले बजेट प्रस्तुत गर्नुअघि भन्सारबाट बिद्युतीय गाढी छोडेको घटनाले सरकारमा इमान्दारिता नरहेको उल्लेख गरे ।







