काठमाडौँ । सरकारले भूमि सम्बन्धी चारवटा ऐन संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले भूमि सम्बन्धी ऐन, २०२१, जग्गा (नाप जाँच) ऐन, २०१९, मालपोत ऐन, २०३४ र भू–उपयोग ऐन, २०७६ का विभिन्न व्यवस्था संशोधन गर्न अध्यादेश जारी गर्ने निर्णय गरेको हो।
सिंहदरबारस्थित उच्च स्रोतका अनुसार भूमि प्रशासन, जग्गा नापजाँच, मालपोत तथा भू–उपयोगसँग सम्बन्धित विद्यमान कानुनी व्यवस्थामा देखिएका समस्या समाधान गर्ने उद्देश्यले अध्यादेश ल्याउन लागिएको हो।
मन्त्रिपरिषद्को निर्णयअनुसार अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिनेछ। यद्यपि, चारवटै ऐनका कुन–कुन व्यवस्था संशोधन गर्न लागिएको हो भन्ने विस्तृत विवरण भने सार्वजनिक भइसकेको छैन।





