काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राईसहित चार जनाविरुद्ध मुद्दा चलाउन केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सिफारिस गरेको छ ।
खेल मिलेमतो तथा ठगीसम्बन्धी कसुरमा अनुसन्धान पूरा गरी सीआईबीले बुधबार अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको हो ।
सीआईबीले अध्यक्ष नेम्वाङ, महासचिव राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सन्जीव पाण्डेलाई प्रतिवादी बनाएर मुद्दा चलाउन सिफारिस गरेको सीआईबीका प्रवक्ता अनुपम शमशेर जबराले बताएका छन् ।
अनुसन्धानका क्रममा एन्फामा ६६ लाख ५३ हजार रुपैयाँ अनियमितता भएको निष्कर्ष सीआईबीले निकालेको छ ।
सीआईबीले गत २ असोजमा एन्फा मुख्यालयमा छापा मारेर कोषाध्यक्ष जोशी र लेखापाल पाण्डेलाई पक्राउ गरेको थियो । उनीहरू पक्राउ परेपछि एन्फाका अध्यक्ष नेम्वाङ र महासचिव राई भने सम्पर्कविहीन रहेको जनाइएको छ ।
एन्फाविरुद्ध राष्ट्रिय हित तथा प्रतिष्ठाविपरीत हुने गरी होम गेम बिक्री गरेको, राष्ट्रिय खेलकुद परिषद् (राखेप)को निर्देशन अवज्ञा गरेको, अवैध रूपमा भत्ता वितरण गरेको, महिला साफ खेलमा होटलको दररेटमा कमिसन तथा भ्रष्टाचार गरेको आरोपमा उजुरी परेको थियो ।
त्यस्तै, स्वीकृति नलिई आफूखुसी वैदेशिक भ्रमण गरेको, अनुदान रकम दुरुपयोग गरेको र अनावश्यक नियुक्ति गरेको आरोपसमेत उजुरीमा लगाइएको थियो ।
विभिन्न समयमा भएका टेन्डर प्रचलित कानुनअनुसार नगरेको तथा विभिन्न प्रतियोगिताका मार्केटिङ, डिजिटल, बोर्डकास्टिङ र टिकटिङ अधिकार प्रदान गर्दा अनियमितता र भ्रष्टाचार गरेको आरोपसमेत उजुरीमा समेटिएको थियो ।
एन्फाभित्र भएको भनिएको गम्भीर अनियमितता, भ्रष्टाचार तथा पदको दुरुपयोगबारे छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गर्दै उजुरी परेपछि सीआईबीले अनुसन्धान अघि बढाएको थियो ।
तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले गत २४ जुनदेखि एन्फालाई निलम्बन गरेको छ ।





