सन्तोष गौतम, म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–५ छिस्वाङ खहरेमा असोज ११ गते आएको भीषण बाढीले खेतीयोग्य जमिन बगरमा परिणत गरेपछि स्थानीय किसानको वर्षभरि खाने अन्नको आधार नै गुमेको छ ।
बाढीले छिस्वाङका करिब ३५ परिवारको करिब डेढ सय रोपनी धानखेतमा क्षति पुर्याएको स्थानीयले बताएका छन् । मार्सी धानका लागि परिचित खहरेखोला आसपासका खेत अहिले माटो, ढुङ्गा र गेग्रानले पुरिएका छन् ।
वीरबहादुर पुनको साढे छ रोपनी खेतमा लगाइएको मार्सी धान बाढीले पूर्ण रूपमा पुरिदिएको छ । १४ जनाको परिवारलाई वर्षभरि खान पुग्ने धान उत्पादन हुने खेत बगर बनेपछि उहाँसँग करिब तीन रोपनी बाँझो जमिन मात्रै बाँकी छ ।
“धान काटेर घर भित्र्याउने बेला खेत नै रहेन,” पुनले भन्नुभयो, “वर्षभरि खाने अन्न फल्ने जमिन बाढीले बगर बनाइदियो ।”
पूर्णबहादुर पुनको अवस्था पनि उस्तै छ । पशुचौपायाका लागि बनाइएको गोठसहित तीन रोपनी धानखेत बाढीले बगाएपछि अन्न उत्पादन गर्ने जमिन नै बाँकी नरहेको उहाँले बताउनुभयो । खेतसँगै आम्दानीको आधार गुमेपछि परिवार पाल्ने चिन्ताले सताएको उहाँको भनाइ छ ।
स्थानीय नरबहादुर घर्तीले पुर्खाले छाडेको जमिन र वर्षौंको मेहनत केही घण्टामै बाढीले बगाएको बताउनुभयो । “धान भित्र्याउने समयमा खेत नै बगेपछि किसान ठूलो पीडामा छन्,” उहाँले भन्नुभयो ।
बाढीले बस्तीको स्वरूप नै बदल्यो
असोज ११ गते आएको बाढीले छिस्वाङ खहरेको स्वरूप नै परिवर्तन गरिदिएको छ । केही समयअघिसम्म घरबस्ती र धानखेत रहेको क्षेत्रमा अहिले माटो, ढुङ्गा र गेग्रान थुप्रिएको छ ।
स्थानीयका अनुसार बस्तीभन्दा करिब चार किलोमिटर माथि पाङ्ग्रा वनमा गएको पहिरो खहरे खोलामा मिसिएपछि बाढी आएको थियो । पुल तथा कल्भर्टमा बाढी थुनिएपछि पानी र गेग्रान बस्तीतर्फ सोझिएको स्थानीय भिजन पुनले बताउनुभयो ।
बाढीले छिस्वाङमा नौ घर पूर्ण रूपमा ध्वस्त बनाएको छ भने २२ भन्दा बढी घरमा आंशिक क्षति पुगेको छ । मिल, पसल, गोठ तथा घरभित्र रहेका अन्नपात र अन्य सामग्रीसमेत बाढीले बगाएको स्थानीयले बताएका छन् ।
घरबास गुमाएका परिवार अहिले आफन्तको घर तथा शारदा माध्यमिक विद्यालयमा आश्रय लिएर बसिरहेका छन् ।
तुलबहादुर घर्तीले रातको समयमा खानेपानीको पाइपलाइन मर्मत गरिरहेका बेला एक्कासि बाढी आएपछि भागेर ज्यान जोगाएको बताउनुभयो ।
“श्रीमती खोलापारि र म वारि बसेर खानेपानीको पाइपलाइन मर्मत गरिरहेका थियौँ । एक्कासि बाढी आएपछि भागाभाग भयो,” उहाँले भन्नुभयो, “केही सेकेन्ड छिटो भाग्न सफल भएकाले ज्यान जोगियो ।”
बाढीले उहाँको खेतबारी पुरिनुका साथै घरभित्र समेत क्षति पुर्याएको छ ।
नदी नियन्त्रण र दीर्घकालीन पुनःस्थापनाको माग
स्थानीय गौदेवी पुनले घर र खेत दुवै गुमेपछि बस्तीको संरक्षणका लागि तत्काल नदी नियन्त्रणको काम गर्नुपर्ने माग गर्नुभयो ।
“घर पनि रहेन, खेत पनि बचेन्,” उहाँले भन्नुभयो, “अब बस्ती जोगाउने गरी नदी नियन्त्रणको काम तत्काल हुनुपर्छ ।”
स्थानीयले नदी नियन्त्रण, कल्भर्ट व्यवस्थापन तथा जोखिममा रहेका परिवारको दीर्घकालीन पुनःस्थापनाको माग गरेका छन् ।
मङ्गला गाउँपालिका–५ का वडाध्यक्ष भूपेन्द्र खत्रीका अनुसार तुलप्रसाद पुन, मेखबहादुर पुन, पूर्णप्रसाद पुन, देवान घर्ती, नरबहादुर घर्ती, गौदेवी पुन, सरोज विक, जितबहादुर पुन र श्यामप्रसाद विकका घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।
घरबास र आम्दानीको आधार एकैपटक गुमेपछि परिवारको दैनिक गुजारा चलाउन कठिन भएको श्यामप्रसाद विकले बताउनुभयो । स्थानीय चित्रबहादुर विकका अनुसार पहिरो र बाढीले खानेपानीको पाइपलाइन तथा ट्याङ्कीमा समेत क्षति पुर्याएपछि गाउँमा खानेपानीको समस्या उत्पन्न भएको छ ।
प्रमुख जिल्ला अधिकारी गणेश गैरेका अनुसार प्रारम्भिक चरणमा छिस्वाङमा हेलिकप्टरमार्फत राहत सामग्री पठाइएको थियो । अहिले सडकमार्गबाट समेत राहत तथा आवश्यक सहयोग पुर्याउन सकिने अवस्था बनेको उहाँले बताउनुभयो ।
केही दिनअघि पहिरो तथा बाढी प्रभावित क्षेत्रको निरीक्षणका क्रममा प्रजिअ गैरेसहित सुरक्षा अधिकारीसँग छिस्वाङ पुगेका गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीसमक्ष स्थानीयले बस्ती संरक्षण र बाढी नियन्त्रणका लागि पहल गरिदिन आग्रह गरेका थिए ।
जुग्जालीले गाउँपालिका, प्रदेश सरकार र सङ्घीय सरकारबीच समन्वय तथा साझेदारीमा बस्तीलाई सुरक्षित बनाउने, पहिरोको थप जोखिम अध्ययन गर्ने र आवश्यक परे पुनःस्थापनाका लागि पहल भइरहेको बताउनुभयो।





