काठमाडौँ — नेपाल क्रिकेट सङ्घ (क्यान) तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को तयारीमा जुटिरहेका बेला प्रतियोगिताले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट औपचारिक मान्यता पाउने प्रतीक्षा गरिरहेको छ।
एनपिएललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन आवश्यक कागजात क्यानले आइसिसीमा पठाइसकेको छ। अब आइसिसीको औपचारिक निर्णयको प्रतीक्षा भइरहेको क्यानका सचिव पारस खड्काले बताए।
उनका अनुसार एनपिएलका टोलीले विदेशी खेलाडी अनुबन्धका लागि विभिन्न खेलाडीसँग सम्पर्क र सम्झौताको प्रक्रिया अघि बढाइरहेका छन्। तर, आइसिसीको औपचारिक स्वीकृति आएपछि मात्र विदेशी खेलाडीको नाम सार्वजनिक गर्ने तयारी छ।
‘राम्रो खेलाडी ल्याउन टोलीहरू कोसिस गरिरहेका छन्। तर अहिले खेलाडीलाई कन्ट्याक्ट गरेर राखेको अवस्था छ। अफिसियली स्याङ्कसन आएपछि मात्रै उहाँहरूलाई अनाउन्स गर्ने कुरा आउँछ,’ खड्काले भने, ‘धेरैजसो टिम यही प्रतीक्षामा हुनुहुन्छ। आशा गरौँ, चाँडोभन्दा चाँडो सकारात्मक खबर आओस्।’
आइसिसीको मान्यता पाएपछि एनपिएलका टोलीलाई टेस्ट राष्ट्रका चर्चित खेलाडीसहित थप स्तरीय विदेशी खेलाडी अनुबन्ध गर्न सहज हुने क्यानको विश्वास छ। यसले प्रतियोगिताको स्तर उकास्नुका साथै नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय चर्चा बढाउन सहयोग पुग्ने खड्काले बताए।
एनपिएल टोली जनकपुर बोल्ट्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) निरोज खतिवडा पनि आइसिसीको निर्णयको प्रतीक्षामा छन्। उनले छिट्टै सकारात्मक निर्णय आउने अपेक्षा व्यक्त गरे।
‘आशा छ आइसिसीले छिटो एनपिएललाई अन्तर्राष्ट्रिय मान्यता दिनेछ। त्यसो हुँदा हामीलाई आवश्यक पर्ने थप विदेशी स्टार खेलाडी भित्र्याउन सहज हुनेछ,’ खतिवडाले भने।
यसपटकको एनपिएलमा डेविड वार्नर, मोइन अली, सिकन्दर राजा र इफ्तिखार अहमदलगायत अन्तर्राष्ट्रियस्तरमा चर्चित खेलाडी सहभागी हुँदैछन्। ठूला विदेशी खेलाडीको सहभागिताले एनपिएलको चर्चा नेपालमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा समेत बढ्ने क्यानको अपेक्षा छ।
खेल पर्यटन प्रवर्द्धनमा एनपिएल
क्यानका सचिव खड्काले एनपिएललाई क्रिकेट प्रतियोगितासँगै खेल पर्यटन प्रवर्द्धनको माध्यमका रूपमा विकास गर्न सकिने बताए।
यसअघि एनपिएलमा सहभागी हुन आएका विदेशी खेलाडी, अम्पायर तथा कमेन्टेटरले नेपालमा सकारात्मक अनुभव लिएर फर्किएको उनको भनाइ छ। उनका अनुसार अघिल्लो संस्करणमा करिब ५५ देखि ६० जना अन्तर्राष्ट्रिय खेलाडी तथा अम्पायर र कमेन्टेटरसहित ६० देखि ७० जना विदेशी नागरिक नेपाल आएका थिए।
‘स्पोर्ट्स टुरिजमको जुन एउटा कन्सेप्ट छ, त्यसलाई नेपाल प्रिमियर लिग र नेपाल क्रिकेटले सुरुदेखि नै प्रवर्द्धन गरिरहेकै छ,’ खड्काले भने, ‘विश्वस्तरीय खेलाडी जब आउनुहुन्छ, उहाँहरूले नेपालका बारेमा अन्तर्राष्ट्रिय कम्युनिटीमा चर्चा गर्नुहुनेछ। त्यसले देशको अर्थतन्त्र र पर्यटनमा सहयोग गर्छ।’
विदेशी खेलाडीको नेपाल आगमनले खेल पर्यटनलाई थप प्रवर्द्धन गर्न सहयोग पुग्ने उनको भनाइ छ। अन्तर्राष्ट्रिय खेलाडीले नेपालबारे सकारात्मक धारणा व्यक्त गर्दा त्यसको प्रभाव विदेशी पर्यटकमा समेत पर्ने क्यानको विश्वास छ।
खड्काले एनपिएलमार्फत नेपाल सुरक्षित र अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सक्षम मुलुकका रूपमा रहेको सन्देशसमेत दिन सकिने बताए।
‘इन्टरनेसनल प्लेयर्सहरू आएर नेपाल इज सेफ, नेपाल इज सेक्योर भन्ने मेसेज हामी दिन सक्छौँ,’ उनले भने, ‘नेपाल फेरि तयार भयो र हामी अगाडि बढ्नेछौँ भन्ने सन्देश पनि यो प्रतियोगिताबाट दिने प्रयास गर्नेछौँ।’
एनपिएलको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुरु हुँदैछ। प्रतियोगिताको फाइनल मङ्सिर ५ गते हुनेछ।
तेस्रो संस्करणमा पनि आठ टोलीबीच प्रतिस्पर्धा हुनेछ। उद्घाटन खेलमा गत संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुने तालिका छ।
रासस






