काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान स्थगित भएको छ। पटक–पटक समय सारिए पनि मतदान सुरु हुन नसकेपछि निर्वाचन समितिले शुक्रबार बिहानदेखि मतदान गर्ने निर्णय गरेको हो।
यसअघि बिहान १० बजेका लागि तय गरिएको मतदान तीनपटक सारेर दिउँसो साढे २ बजेसम्म पुर्याइएको थियो। तर, उक्त समयमा पनि मतदान सुरु हुन सकेन। त्यसपछि निर्वाचन समितिले बिहीबारका लागि अर्को समय सार्वजनिक गरेको छैन।
निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार शुक्रबार बिहान ७ बजेदेखि मतदान सुरु हुनेछ।
निर्वाचन सामग्री छाप्ने काममा ढिलाइ भएकाले मतदान प्रक्रिया प्रभावित भएको निर्वाचन समितिले जनाएको छ। निर्वाचन सामग्री प्रेसबाट समयमै प्राप्त हुन नसक्दा मतदानको तयारी पूरा गर्न समस्या भएको समितिको भनाइ छ।





