समाज गृहपृष्ठ समाज पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको *मृ*त्यु

कास्की । पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर दुई जना मजदुरको मृत्यु भएको छ।

मृत्यु हुनेमा पर्वतको महाशिला गाउँपालिका–६ फलामखानीका २९ वर्षीय विक्रम सुनार र गोरखाको पालुङटार नगरपालिका–७ का ३७ वर्षीय राजु कुमाल रहेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक दीपकप्रसाद रिजालले जानकारी दिए।

प्रहरीका अनुसार आज दिउँसो घरको जग खन्ने क्रममा करिब सात फिट गहिरो खाल्डोमा काम गरिरहेका बेला उनीहरूमाथि अचानक माटोको ढिस्को खसेको थियो। ढिस्कोले पुरिएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको टोलीले तत्काल उद्धार सुरु गरेको थियो।

उद्धार टोलीले माटो पन्छाएर दुवै जनालाई बाहिर निकाली उपचारका लागि मणिपाल शिक्षण अस्पताल पुर्‍याएको थियो। सुनारलाई अपराह्न ४ः३५ बजे उद्धार गरिएकोमा चिकित्सकले साँझ ५ बजे मृत घोषणा गरेका थिए। कुमाललाई साँझ ६ बजे उद्धार गरी अस्पताल पुर्‍याइएकामा ६ः२६ बजे चिकित्सकले मृत घोषणा गरेका प्रहरी निरीक्षक रिजालले बताए।

घटनालगत्तै जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी निरीक्षक रिजालको कमान्डमा १० जना, वडा प्रहरी कार्यालय बगरबाट प्रहरी निरीक्षक रामप्रसाद सापकोटाको कमान्डमा सात जना तथा सशस्त्र प्रहरी बल नेपाल नं. २४ हेडक्वाटर कालिका गण पोखराबाट सशस्त्र प्रहरी सहायक निरीक्षक सुजतकुमार यादवको कमान्डमा १३ जनाको टोली उद्धारमा परिचालन गरिएको थियो।

स्थानीयवासीले अवैज्ञानिक ढङ्गले गरिएको प्लटिङ तथा असुरक्षित रूपमा जग खन्ने कार्यका कारण यस्ता घटना हुने गरेको भन्दै निर्माण कार्यमा आवश्यक सुरक्षा सावधानी अपनाउनुपर्नेमा जोड दिएका छन्।