आज पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं– देशका विभिन्न स्थानमा आज पनि मेघगर्जन, चट्याङ र असिनासहित वर्षा हुने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले केही स्थानमा छोटो अवधिका लागि भारी वर्षा हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण आगामी एक–दुई दिनसम्म देशका विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना रहेको छ।

आज हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा हुनुका साथै हिमपातसमेत हुन सक्ने पूर्वानुमान गरिएको छ।

त्यसैगरी, मधेश, कोशी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

छोटो अवधिमै भारी वर्षा हुन सक्ने भएकाले नदी तथा खोलानालामा जलस्तर बढ्न सक्ने, सडक यातायात प्रभावित हुन सक्ने तथा चट्याङ र हावाहुरीबाट जोखिम निम्तिन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।