पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ स्थित ओख्ले भीरमा विद्यार्थी बोकेको स्कुल बस दुर्घटनामा परेको छ । प्रारम्भिक विवरणअनुसार बसमा चालक र सहचालकसहित २५ जना सवार थिए ।
बसमा सवारमध्ये २१ जना कक्षा १० का विद्यार्थी रहेको बताइएको छ । दसैँ बिदाअघि परीक्षा सम्पन्न गर्ने तयारीअनुसार ट्युसन पढ्न जाने क्रममा उनीहरू बिहानै दुर्घटनामा परेका हुन् ।
ओख्ले भीरको सडक अप्ठ्यारो र जोखिमपूर्ण रहेको बताइएको छ । दुर्घटनालगत्तै स्थानीय बासिन्दा र सुरक्षाकर्मीको सहयोगमा उद्धार कार्य सुरु गरिएको थियो ।
हालसम्म १८ जनाभन्दा बढीको उद्धार गरी उपचारका लागि पोखरास्थित गण्डकी अस्पताल पठाइएको छ ।
घटनास्थलमा उद्धार कार्य जारी रहेकाले दुर्घटनाको कारण तथा घाइतेको अवस्था र सम्भावित मानवीय क्षतिको यकिन विवरण आउन बाँकी छ ।





