एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजबिक्रम नेम्वाङ र महासचिव किरण राईलाई पक्राउ गर्न ललितपुर जिल्ला अदालतले आदेश दिएको छ।

जिल्ला न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले नेम्वाङ र राईविरुद्ध पक्राउ पुर्जी जारी गर्न आदेश दिएको ललितपुर जिल्ला अदालतका सूचना अधिकारी टिकाध्वज कार्कीले जानकारी दिए।

सोही इजलासले पक्राउ परेका एन्फाका कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले जोशीसँग १५ लाख रुपैयाँ र पाण्डेसँग १२ लाख रुपैयाँ धरौटी माग गरेको हो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले केही दिनअघि जोशी र पाण्डेलाई पक्राउ गरेको थियो।

सीआईबीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईसहित चार जनालाई प्रतिवादी बनाउँदै बिहीबार ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।