पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला

सुर्खेत– सुर्खेतको चौकुने र बराहताल गाउँपालिकाका विभिन्न जङ्गलमा लुकाइछिपाइ राखिएका १८ थान भरुवा बन्दुक प्रहरीले फेला पारेको छ।

विशेष सूचनाका आधारमा असोज २३ गते खटिएको प्रहरी टोलीले चौकुने गाउँपालिका–७ स्थित सान्नेघारीको जङ्गलबाट पाँच थान भरुवा बन्दुक बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराका अनुसार इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी निरीक्षक भूपेन्द्र शाहीको नेतृत्वमा खटिएको टोलीले इलाका प्रहरी कार्यालय गुटुसमेतको सहयोगमा ती बन्दुक फेला पारेको हो।

त्यसैगरी, अस्थायी प्रहरी चौकी लगामबाट खटिएको टोलीले चौकुने गाउँपालिका–१ स्थित धामिसेनको जङ्गलबाट १२ थान र प्रहरी चौकी रानीघाटबाट खटिएको टोलीले बराहताल गाउँपालिका–१ स्थित ज्यामिरेको जङ्गलबाट एक थान भरुवा बन्दुक फेला पारेको प्रहरीले जनाएको छ।

प्रहरी नायब उपरीक्षक बोहोराका अनुसार बरामद गरिएका सबै १८ थान भरुवा बन्दुक रीतपूर्वक नियन्त्रणमा लिइएको छ। ती बन्दुक कसले र कुन प्रयोजनका लागि लुकाएर राखेको थियो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।