काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलामा नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ ।
नेपाल र क्यानडाबीचको खेल ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ ।
लिग–२ को अन्तिम शृङ्खला खेलिरहेका दुवै टोलीका लागि यो खेल महत्त्वपूर्ण छ । शृङ्खलाको पहिलो खेलमा ओमानले क्यानडालाई पराजित गरेको थियो । ओमानसँग क्यानडा पराजित भएपछि नेपालको लिग–२ को शीर्ष चारमा रहने सम्भावना समाप्त भएको छ ।
अब नेपालको मुख्य लक्ष्य एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउनु हुनेछ । त्यसका लागि नेपालले बाँकी खेलमा राम्रो प्रदर्शन गर्दै अंकतालिकामा आफ्नो स्थिति सुधार गर्नुपर्नेछ ।
लिग–२ को अंकतालिकामा नेपाल ३२ खेलबाट २४ अंक जोड्दै सातौँ स्थानमा छ । क्यानडा भने ३३ खेलबाट २५ अंकसहित छैटौँ स्थानमा रहेको छ ।
नेपालको टोली
सन्दीप लामिछाने (कप्तान), दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आसिफ शेख, अर्जुन कुमाल, इशान पाण्डे, देव खनाल, सन्दीप जोरा, बसिर अहमद, गुल्शन झा, करण केसी, नन्दन यादव, ललित राजवंशी, शाहब आलम र शेर मल्ल ।






