गोरखा । बूढीगण्डकी नदीमा आएको बाढीले गोरखामा दुईवटा मोटरेबल र चारवटा झोलुङ्गे गरी छवटा पुल बगाएको छ । बाढीका कारण कम्तीमा १० जना सम्पर्कविहीन भएका छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार बाढीले गोरखाको आरुघाट र धादिङको त्रिपुरासुन्दरी जोड्ने तथा आरुघाटको सोती र मान्बु जोड्ने पक्की पुल बगाएको छ । त्यस्तै, धार्चे गाउँपालिका–१ र ३ जोड्ने बेलिब्रिज पनि बाढीले बगाएको उनले बताए।
बाढीले माछीखोला र केरौँजा जोड्ने झोलुङ्गे पुल, चुमनुब्रीको ठाडोभिर र जगत् जोड्ने पुल तथा सिर्दिबासको घट्टेखोला र फिलिम जोड्ने झोलुङ्गे पुलसमेत बगाएको छ ।
बाढीले चुमनुब्री गाउँपालिका–३ अन्तर्गत पैयुँ र बगरका करिब ३५ घर बगाएको छ । त्यस्तै, जगत्, सल्लेरी, दोभान र घट्टेखोला गाउँमा समेत क्षति पुगेको छ ।
बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको थप विवरण संकलन भइरहेको छ ।






