बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, खोज तथा उद्धारका लागि ४३७ जना सुरक्षाकर्मी परिचालित

काठमाडौं । गोरखाको चुमनुव्री गाउँपालिका–६ अन्तर्गत लोक्पा र चुम्लिङबीच ठूलो पहिरो खस्दा बूढीगण्डकी नदीमा आएको बाढीमा परी पाँच जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा दुई महिला र तीन पुरुष रहेका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चुमनुव्री गाउँपालिका–६ चुम्चेतको उङ्गिलुङ निवासी उनीहरू भेडीगोठमा रहेका बेला बेपत्ता भएका हुन्।

बाढीले गोरखाका विभिन्न स्थानमा घर, झोलुङ्गे तथा पक्की पुल, विद्युत्का खम्बा र टेलिफोन टावरमा क्षति पुर्‍याएको छ। धार्चे गाउँपालिका–३ सल्लेरीस्थित निर्माणाधीन टाइम्स ऊर्जा प्रालिको संरचना तथा आसपासका सातदेखि आठवटा घर बगाएको प्राधिकरणले जनाएको छ।

त्यस्तै, चुमनुव्री गाउँपालिका–३ न्याकचेतमा न्याकचेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल बगाएको छ। सोही स्थानमा एउटा घर बगाएको छ भने अर्को घरमा बाढी पसेको छ। धार्चे गाउँपालिका–५ माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुलसमेत बाढीले बगाएको छ।

आरुघाट गाउँपालिका–९ नयाँपुलस्थित गोरखाबाट धादिङ जोड्ने पक्की पुलको गोरखातर्फको एक भाग बगाएको छ। यस्तै, आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुल पनि बाढीले बगाएको प्राधिकरणले जनाएको छ।

माछीखोलाको तल्लो बस्तीमा बाढी पसेपछि त्यहाँका २० देखि २२ घर जोखिममा परेका छन्। बाढीले ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्र र केही निर्माण उपकरणसमेत बगाएको छ। यसका साथै दुईवटा टेलिफोन टावर र ५० वटा विद्युत्का खम्बामा क्षति पुगेको छ।

बाढीको सूचना प्राप्त हुनासाथ सुरक्षाकर्मी परिचालन गरी नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको प्राधिकरणले जनाएको छ। खोज तथा उद्धारका लागि इलाका प्रहरी कार्यालय आरुघाटबाट २५ जना प्रहरी खटिएका छन्। सल्लेरीस्थित टाइम्स ऊर्जा प्रालिका १२ जना कर्मचारीलाई पनि सुरक्षित स्थानमा सारिएको छ।

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी ४३७ जना सुरक्षाकर्मी परिचालन गरिएको छ।

प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीका अनुसार नेपाली सेनाका चारवटा हेलिकप्टरसमेत खोज तथा उद्धारमा परिचालन गरिएका छन्।

बाढीको सूचना प्राप्त भएपछि गोरखा, धादिङ र चितवनको बेनीघाटसम्मका बासिन्दालाई एसएमएसमार्फत पूर्वसूचना पठाइएको थियो। त्यस्तै, गोरखा, धादिङ, तनहुँ, चितवन तथा नवलपरासी पूर्व र पश्चिमका २२१ जना प्रतिकार्यकर्तालाई परिचालनका लागि सूचना पठाइएको प्राधिकरणले जनाएको छ।