रोहितको शतकमा नेपालले क्यानडालाई २४ रनले हरायो

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलाको आफ्नो पहिलो खेलमा नेपालले क्यानडालाई २४ रनले पराजित गरेको छ।

ओमान क्रिकेट एकेडेमी मिनिस्ट्री टर्फ–१ मा आइतबार भएको खेलमा नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८.४ ओभरमा २११ रनमा अलआउट भयो।

क्यानडाका लागि आरोन जोनसनले सर्वाधिक ४४ रन बनाए। समित गोहेलले ३५, अखिल कुमारले अविजित ३० तथा श्रेयस मोभा र कप्तान हम्जा तारिकले समान २६ रनको योगदान दिए।

नेपालका लागि करण केसी, ललित राजवंशी, सन्दीप लामिछाने र नन्दन यादवले समान दुई विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २३५ रन बनाएको थियो। नेपालका लागि कप्तान रोहित पौडेलले शतकीय इनिङ्स खेले। उनले १२७ बलमा आठ चौका र एक छक्काको मद्दतमा सर्वाधिक १०१ रन बनाए।

त्यस्तै, गुल्शन झाले ३४ बलमा आक्रामक ४८ रन जोड्दा अर्जुन कुमालले २३ रन बनाए।

क्यानडाका लागि अखिल कुमारले चार विकेट लिए भने सुख्जिन्दर सिंहले तीन र जहिर शिर्जादले दुई विकेट लिए।

शृङ्खलाको पहिलो खेलमा ओमानले क्यानडालाई पराजित गरेको थियो। लिग–२ को शीर्ष चारमा रहेर विश्वकप छनोटमा पुग्ने नेपालको सम्भावना यसअघि नै समाप्त भइसकेको छ। अब नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउनु मुख्य चुनौती बनेको छ।

क्यानडाविरुद्धको जितपछि नेपाल लिग–२ को अंकतालिकामा ३३ खेलबाट २६ अंक जोड्दै छैटौँ स्थानमा उक्लिएको छ। क्यानडा भने ३४ खेलबाट २५ अंकसहित सातौँ स्थानमा झरेको छ।